पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले १४ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

गाउँपालिकाले सोमबार एक समारोहमा वडा नं. ६ बिहीबारेका १४ घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । उनीहरूलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडाध्यक्षहरू चरण गुरुङ, मोहनप्रसाद अधिकारी र खड्ग बस्नेतले पुर्जा वितरण गरेका थिए ।

भूमिहीन सुकुम्बासीमा अजम्बरी टोलका धनबहादुर राई, भक्तबहादुर राई, शारदा राई, पूर्णिमा थेगिम लिम्बू, बिहीबारेका फूलमाया घिसिङ तामाङ, टीकामाय मगर, कल्पना राई, पाँचथरे टोलका दीपेन्द्र थेगिम लिम्बू र देउरालीका तिलकबहादुर रानामगरले जग्गा धनीपुर्जा पाएका छन् ।

त्यसैगरी भूमिहीन दलितमा अजम्बरी टोलका मनिता विश्वकर्मा र बिहीबारेका अस्मिता सुन्दास, होमा दर्जी, मिठ्ठी दर्जी र चेलीमाया दर्जीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । उनीहरू सबैले ३ कठ्ठा ५ दशमलव ७६ धुर पाएका छन् ।

यसअघि कानेपोखरी गाउँपालिकाले वडा नं. ६ बिहीबारेका ६२ घरपरिवार भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा धनीपुर्जा वितरण गरेको थियो ।