धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सङ्खुवासभाको चैनपुरबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को.१ ज २२७५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हँुदा ११ जना घाइते भएका हुन् । बोलेरो सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
घटना भएको खबर पाउने बित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको उनले बताए ।
बोलेरो चालक मोरङको बेलबारी नगरपालिका वडा नं.२ का प्रवीण कोइराला प्रहरी चौकी लेगुवा धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।