धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सवारीलाई नियन्त्रणमा लिई कारबाही थालेको छ ।
नियन्त्रणमा लिएका सवारी पुनः कम्पनीले निर्माण गरेकै स्वरूपमा बनाएपश्चात् मात्रै जरिबाना लिई छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । विशेष गरी धरानमा बुलेट कम्पनीका मोटरसाइकल र क्रसफायर कम्पनीले निर्माण गरेको मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को ध्वनि आउने ‘साइलेन्सर’ जडान गर्ने गरेका छन् ।
त्यस्ता बाइकले ध्वनि प्रदूषण गरेको भन्ने जनगुनासोका आधारमा कारबाही थालिएको उनले बताए । ‘यो अभियान सुनसरीभरि नै चलाइएको छ । विशेषगरी धरानमा चाहिँ अलि बढी नै छ । रातको समयमा ध्वनि प्रदूषण गर्ने गरी बाइक चलाउने गरेका छन् । आजमात्रै १५–२० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर राख्यौँ’–उनले भने ।
नेपालको कानूनमा सवारीको स्वरूप परिवर्तन गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अनुमति लिनुपर्ने हुन्छ । ऐनको दफा ३९ मा सवारी धनीले स्वीकृति नलिई सवारीका कुनै पनि सामग्री हेरफेर गर्न नपाउने व्यवस्था छ । यदि त्यसो गरेको पाइएमा उक्त दफा उल्लङ्घन भएको मानी दफा १६० को उपदफा २ को (ख)अनुसार जरिबाना गर्ने व्यवस्था रहेको छ ।
‘हामीले ऐनअनुसार सवारी मोडिफाइ गरेकाहरूलाई कारबाही गर्दै आएका छौँ’ ट्राफिक प्रहरी प्रमुख बस्नेतले भने, ‘यो हाम्रो अभियानकै रूपमा रहेको छ । पहिलो पटकलाई पुरानै स्वरूपमा बनाए भने छाडिदिन्छौँ । पटकेलाई ऐनको दफाअनुसार कारबाही गर्छौं ।’
ट्राफिक प्रहरीका अनुसार धरानमा विशेष गरी बुलेट र क्रसफायर कम्पनीका मोटरसाइकलको साइलेन्सर फेरेर चर्को आवाजमा कुदाउने गरेका छन् । जसका कारणले बच्चा तथा वृद्धवृद्धामा सिधैँ असर पर्ने गरेको छ भने अन्यमा पनि समस्या हुने गरेको प्रहरी बताउँछन् ।
नेपालमा अस्पताल तथा विद्यालय क्षेत्रमा हर्न निषेधित गरिएको छ । तर पनि बेवास्ता गरी कुदाउनेहरूलाई कारबाही गर्ने गरिएको छ । ट्राफिक नियमको उल्लङ्घन गरी कुदाउनेलाई जरिबाना गराउने गरेको उनले बताए ।