भरौल । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको ६३ औं स्थापना दिवस शुक्रबार मनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्रका प्रमुख रमेश कार्कीले वराहक्षेत्रका सबै स्कुल अब जडेजको शिक्षण प्रणालीलाई हेरेर अगाडि बढ्न आग्रह गरे । उनले आफू चुनावमा होमिएका बेला र विजयी भइसकेपछि वराहक्षेत्रको शिक्षा क्षेत्रमा सुधार गर्ने वाचा गरेको स्मरण गरे ।

सोअनुरूप स्कुलको उन्नति र विकास देख्दा आफ्नो लक्ष्य सफल हुँदै गएको बताए । स्कुलका व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज ढुङ्गानाले स्कुलमा हुने भ्रष्टाचार, अनियमितता भएको भन्दै झुटो प्रचारबाजी हुने गरेकाले त्यस्ता कुराको पछाडि नलाग्न आग्रह गरे ।

उनले यदि अनियमितता गरेको प्रमाण भए आफू कारबाही भोग्न तयार रहेको बताए । उनले अब बन्ने समिति सक्षम र स्कुलको हितमा लाग्ने हुनुपर्ने बताए । उनले समितिमा राजनीतिक गन्ध आउन नहुने जिकिर गरे  ।

कार्यक्रममा पूर्व व्यवस्थापक समितिका अध्यक्ष, वरिष्ठ सहायक प्रधानाध्यापक योगराज पौडेल, सहायक प्रअ खड्ग कार्की, शिक्षक राजकुमार खड्का, शिक्षक सङ्गीता आचार्य, शिक्षक सञ्चिता राई, शिक्षक कमला गौतम, शिक्षक प्रमिला कार्की, कर्मचारी राजदीप धामी, कर्मचारी देवबहादुर कार्कीलाई नगद २–२ हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख कार्की र कार्यक्रममा सभापति पुष्पराज ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । यस्तै कक्षा १२ को बाली विज्ञानतर्फ उत्कृष्ट छात्रा दिपिका चौधरीलाई नगदसहित प्रमाण–पत्र प्रदान गरिएको छ । उनले ८५ दशमलव ९६ प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएकी थिइन् ।

यसक्रममा सुरेशकुमार शर्माले बुबा पण्डित मेघनाथ शर्मा र आमा जानकी शर्माको नाममा ८ थान कम्प्युटर र बालबालिकालाई ९० थान स्वेटर वितरण गरे ।