भद्रपुर । झापाको भद्रपुरमा बनेको नेपाल– भारत जोड्ने मेची पुल भएर सवारीसाधन आवतजावतलाई सहज बनाउने सहमति भएको छ ।
निजी साना सवारीसाधन र सामान ढुवानी गर्ने खाली यातायातका साधनको सहज आवागमनका लागि दुवै देशका प्रतिनिधिबीच मौखिक सहमति भएको हो ।
उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्घसहित नेपाल भारत मैत्री सङ्घका प्रतिनिधि तथा नेपाल–भारतका सरकारी निकायका प्रतिनिधिबीच यातायातका साधनलाई सहज आवागमन गर्न दिने सहमति भएको हो ।
सहमति अनुसार परमिट नलिएका नेपाली नम्बरका साना निजी सवारीसाधनहरूलाई गलगलिया बजार र गलगलियास्थित बस स्टेण्डसम्म बिनारोकटोक पुग्न दिने तथा मालसामान ओसारपसारमा प्रयोगमा आउने भारतीय नम्बर प्लेटका खाली सवारीसाधनलाई भद्रपुर बजारसम्म आउन दिइने छ ।
त्यसरी सामान ढुवानी गर्नका लागि भद्रपुर बजारमा आउने सवारीसाधनहरू माल लोड गरेपछि भने अर्कै रूट भएर भारतीय भूमिमा जानुपर्ने सहमति भएको झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले जानकारी दिए ।
पुल निर्माण भएपनि भारतीय क्षेत्रको गलगलियामा भारतले कस्टम अफिसको स्तरीकरण नगर्दा मालसामान ढुवानीसहित सवारी आवागमनमा असहजता कायमै रहेको छ । यद्यपि भारतीय नाका गलगलियाको रेल्वे तथा सुरक्षा प्रणाली र भन्सार स्तरीकरण गरी मानव र सवारीसाधनको सहज र व्यवस्थित आवागमनको प्रयास गरिरहेको भारतीय पक्षले जनाएको छ ।
झापा उद्योग सङ्घ र नेपाल भारत मैत्री सङ्घको पहलमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश एक अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री सङ्घका झापा अध्यक्ष प्रदीपमणि रेग्मी र सचिव कृष्ण दाहाल, भद्रपुर भन्सारका प्रभुनारायण मेहता, वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज सन्तोष बुढाथोकी र सशस्त्र सीमा सुरक्षा बल भद्रपुरका इन्स्पेक्टर रामप्रसाद घिमिरे सहभागी थिए ।
त्यस्तै भारतीय पक्षबाट एसएसवी हरिस सिन्हा, गलगलिया भन्सारका सुपरिटेन्डेन्ट रामनाथ राम, सुपरिटेन्डेन्ट उमेशकुमार, इन्स्पेक्टर राजेश कुमार र पूर्व मुखिया गणेश राय समेतको उपस्थितिमा सहमति भएको उद्योग सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोना महामारीका कारण बन्द भएका नाकाहरु सहज हुदै गइरहेका छन् । झापाका मुख्य नाका काँकडभिट्टा र भद्रपुर छन् । मेची नदीमा पक्की पुल निर्माण भइसकेपनि सो पुलबाट चहलपहल सुस्त छ ।