विराटनगर । विराटनगरमा सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म दोस्रो सडक महोत्सव हुने भएको हो ।

तीनदिनसम्म सञ्चालन हुने महोत्सवमा आदिवासी जनजाति समुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू हुने विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।

मन्जिना मूभिज क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा ४० वटा स्टल रहने निर्देशक जतिन ताम्राकारले जानकारी दिए । महोत्सवमा नेवारी, राजवंशी, मैथिली, लिम्बूलगायत विभिन्न जातजाति तथा समुदायहरूको खानाको परिकारहरू रहनेछन् ।

‘ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै सांस्कृतिक परम्पराको प्रवद्र्धन गर्न सडक महोत्सव गरिएको हो’ उनले भने, ‘विभिन्न समुदायको खानाको परिकारसँग दैनिक साँझमा हुने स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ ।’

सडक महोत्सवमा दैनिक कलाकारहरूको नृत्य, गायन प्रस्तुति हुनेछ । जहाँ खानाको परिकारसँग सडकमै बसेर सहभागीहरूले रमाइलो गर्नेछन् ।