धनकुटा । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा शनिबारदेखि तीनदिने खाना महोत्सव सुरु भएको छ । एक कार्यक्रमका बीच प्र्रदेश १ का सांसद निरेन रार्ईले महोत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राईले प्रदेश १ को मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना ल्याउने बताए ।

उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटन भएको बताउँदै सांसद राईले भने, ‘पर्यटनमा नीतिगत रूपमा ध्यान दिएर कार्यक्रम बनाएर अघि बढ्ने हो भने १ नम्बर प्रदेश सुखी र धनी बन्छ ।’ आर्थिक मन्दीको कारण ओरालो लागेको पर्यटकीय स्थल भेडेटारको होटल व्यवसाय खाना महोत्सव आयोजनासँगै अघि बढ्ने सांसद राईले दाबी गरे ।

कार्यक्रमका विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष  जितेन्द्र रुम्दालीले साँगुरीगढी  गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका बनाउन गाउँपालिकाभरि होमस्टे सञ्चालन गर्नेे बताए । उनले भने, ‘भेडेटारमा आउने हरेक पर्यटकलाई हरेक वडाको होमस्टेमा पुर्याउने गरी प्याकेज कार्यक्रम गाउँपालिकाले ल्याउनेछ ।’ उनले गाउँ गाउँमा होमस्टे खोल्ने कार्यक्रम यही वर्षबाट लागू गर्ने बताए ।

खाना महोत्सव उद्घाटन समारोहमा लिम्बू जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको गेलाङ र मगर समुदायको हुर्रा नाच प्रदर्शन गरिएको थियो । उनीहरूलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसै गरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी समाचार लेखेर सहयोग पुर्याएको भन्दै नेपाल टेलिभिजनका धनकुटा संवाददाता ईश्वर थापालाई नगदसहितले सम्मान गरिएको छ । त्यस्तै भेडेटारको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै सडक डिभिजन धनकुटाका तत्कालीन प्रमुख दानबहादुर शाक्य र तत्कालीन पुनःनिर्माण परियोजना धनकुाटका प्रमुख थिरेन्द्र दाहाललाई पनि सम्मान गरिएको छ ।

त्यसै गरी साँगुरीगढी गाउँपालिकाको भवन बनाउन जग्गा दान गर्ने जग्गादाता धरान निवासी मीन सुब्बा र पूर्ण बस्नेतलाई पनि सम्मान गरिएको छ । त्यसै गरी कोसेली घर निर्माण गर्न जग्गा दान गर्ने जग्गादाता धनकुटाका देव इवाहाङलाई पनि ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

महोत्सवमा दुई दर्जनभन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरू प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एसोसिएसन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् ।

महोत्सवलाई लक्षित गरी बजार क्षेत्र आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसँगै भिन्नभिन्न टुर प्याकेजहरूमा ५ देखि ३० प्रतिशतसम्म छुट र आन्तरिक र बाह्य पर्यटकहरूलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभरिका ऐतिहासिक साँगुरीगढी, पाथीभरा मन्दिर, शङ्खेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङ्गको वरको रूखलगायतका स्थान घुमाउने योजना छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष भेडटारमा खाना महोत्सव आयोजना गरिँदै आएको छ ।