पथरी । मोरङ पथरीशनिश्चरे–८  घर भएकी २२ वर्षीया अस्मिता लिम्बूको रोटेपिङ खेल्ने क्रममा खसेर मृत्यु भएको छ ।

पोखरामा औद्योगिक व्यापार मेलामा रोटेपिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते भएकी अस्मिताको गण्डकी मेडिकल अस्पतालमा उपचारको क्रममा पुस ६ गते बुधबार मृत्यु भएको हो ।

अस्पतालको रिपोर्टअनुसार अस्मिताको मेरुदण्डको हाड, पछाडिको करङ तथा घाँटी पनि भाँचिएको र टाउको समेत फुटेको थियो । अस्मिता कोरिया भाषा पढ्दै थिइन् । उनले कोरिया भाषा पढेर कोरिया जाने सपना बुनेकी थिइन् ।

अस्मितासँगै दिदी रुविना र कोपिला बानियाँ पिङबाट खसे । दिदी रुविना र कोपिला बानियाँ सामान्य घाइते भएका थिए । अस्मिताकी दिदी रुविनाकी ४ वर्षीया छोरी पनि पिङबाट सँगै खसेकी थिइन । तर, बच्चाको अवस्था सामान्य भएको अस्पतालले जनाएको थियो । जम्मा ४ जनामा एकजना पिङको रडमै झुण्डिएर खस्नबाट बचेको प्रहरी बताउँछन् ।

अस्मिताका दिदीभेनाजु पोखराको नयाँ बजारमा बस्दै आएका छन् । उनी पोखरा घुमेर मङ्सिर २० गते पथरीशनिश्चरे आफ्नो घर फर्किने तयारीमा थिइन् । घर फर्किने भनेर २० गतेको बसको टिकट पनि काटेकी थिइन् । पोखरा उद्योग वाणिज्य सङ्घले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक मेला मङ्सिर १६ गतेबाट सुरु गरेको थियो ।

भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मङ्सिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगे । मेला पुग्दा साँझ ६ बजिसकेको थियो । मेलामा घुम्दै गर्दा उनीहरू रोटेपिङ राखिएको ठाउँमा पुगे । पिङ खेल्न खोज्दा मान्छे नपुग्ने भन्दै उनीहरूलाई पिङ चलाउन बसेका व्यक्तिहरूले फर्काइदिए ।

मेला हेर्न गएका अरू पनि केहीबेरमा पिङतर्फ आए । उनीहरू पिङ खेल्न चाहेपछि अस्मिताको समूहलाई पनि पिङ खेल्न बोलाइयो । जम्मा पिङ खेल्ने ९ जना भए । उनीहरू टिकट काटेर पिङमा चढे । जब पिङ चल्न थाल्यो, दोस्रो घुमाइमै अस्मिता बसेको डिब्बा छड्के भयो । अस्मिता, रुविना र कोपिला बानियाँ पिङबाट खसे । पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन् । रुविना, कोपिला र ४ वर्षीया बालिका सामान्य घाइते भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

अस्मिताकी दिदी रुविनाका अनुसार पिङको नटबल्टु राम्रोसँग नकसेका कारण डब्बा पल्टिएर खस्न पुगेका हुन् । घरपरिवारमा अभिभावकको रूपमा आमा मात्र रहेकी अस्मितालाई पुस ८ गते शुक्रबार पथरीशनिश्चरे–८ केर्खाको घरमा ल्याई दाह संस्कार गरिएको छ । घटना घटेपछि अस्मिताको परिवार घटनास्थलमा पुगेका थिए ।

घटना भएपछि उपचारको केही समयपछि फोक्सो र मुटुको उपचार गरिएको थियो । उपचारका बेला उनले मान्छे चिनेको र मलाई घर लैजानू भनेका कुरा छिमेकी दिनेश लिम्बू बताउँछन् । घटना भएको १५ दिनसम्म अस्पतालकै शøयामा राखिएको थियो । मेला पनि सकियो अस्पतालले अस्मितालाई मृत घोषणा गरिदियो । पिङमा प्राविधिक कमजोरी धेरै पाएको छिमेकी लिम्बूले बताए ।

पोखराको नयाँ बजारमा रुविना घरभाडामा बस्दै आएर व्यापार व्यवसाय गर्दै आएकी छिन् । घरधनी दिलमाया गुरुङका अनुसार यहाँ सबैसँग पहल गरेको बताइन् । अस्मिताको उपचार गरेको १२ लाख खर्च भयो र मृतकका परिवारको मागअनुसार १० लाख क्षतिपूर्ति बापत दिलाएको पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यले बताए ।