देउराली । धरान ५ का समाजसेवी मोहन केशर कार्कीको ५४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल आर्मीका पूर्व जम्दार कार्कीको मंगलबार साँझ धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित आफ्नो पुर्ख्यौली घरमा निधन भएको उनका भाइ मदन कार्कीले बताए ।
मदनका अनुसार धरानबाट पूजाका लागि आइतबार पुर्ख्यौली घर पुगेका उनी मंगलबार अचानक अस्वस्थ बनेका थिए । उनलाई उपचाकालागि धरान ल्याउने तयारी भइरहँदा उनको निधन भएको मदनले बताए ।
कार्की देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पूर्व अध्यक्ष हुन् । २५ सय भन्दा बढी उपभोक्ता रहेको समितिको अध्यक्ष हुँदा कार्कीले गरेका उल्लेख्य कामका कारण उपभोक्ताले हिउँद बर्खै भोग्दै आएको खानेपानीको समस्याबाट धेरै हदसम्म मुक्त भएको स्थानीय शोभा बान्तवा बताउँछिन् ।
उनको कार्यकालमा खानेपानीको स्रोत थप्ने, वितरण प्रणालीलाई व्यवस्थित गर्ने तथा रिजर्भ ट्याङ्की निमार्ण गर्ने जस्ता उल्लेख्य काम भएको पूर्व सचिव मिलन लिम्बूले बताए ।
विभिन्न संघ संस्थामा आबद्ध कार्की तल्लो देउराली बाल विकास केन्द्रका अध्यक्ष तथा फूलबारी एकता समाजका सल्लाहकार पनि हुन् । सामाजिक कार्यमा बौद्धिक, भौतिक, तथा आर्थिक सहयोग गर्दै आएका कार्की धरान ५ मा समाज सुधार तथा संस्थाको सुधारका लागि परोपकारी तथा कर्मशील व्यक्तिका रूपमा चिनिन्छन् ।