धनकुटा । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटाले धनकुटा नगरपालिका वडा नं.५ कर्मिटारस्थित फनपार्क नजिकै चुम्लुङ भवन (हिम) निर्माण गरिहेको जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९ देखि निर्माण कार्य थालिएको चुम्लुङ भवन (हिम) को हालसम्म १ तला ढलाई गरिएको छ । कार्यक्रम गर्ने एउटा हलसहित १२ कोठाको १ करोड ८० लाखको स्टमेटमा भवन निर्माण भैरहेको समितिका सचिव डम्वर खवाहाङ्गले जनाकारी दिए । उनले हालसम्म भवन निर्माणको लागि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट आ.व.०७८/०७९ मा अनुदान प्राप्त १५ लाख, २९ हजार, किरात याक्थुङ चुम्लुङ हङ्गकङ्गबाट २ लाख, ५० हजार प्राप्त भएको बताए ।

त्यसैगरी आ.व.०७८/०७९ मा धनकुटा नगरपालिकाबाट २ लाख, कियाचु जापनवाट १ लाख, ७ हजार, वराहिनवाट १ लाख, ४४ हजार नगद प्राप्त भएको छ । यता किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाले भवन निर्माण गर्न ३ लाख, ५० हजार नगद जुटाएको छ ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ घर भै हाल हङ्गकङ्गमा वसोवास गरिरहेका पितम खजुम पारघरीले २ लाख, ६८ हजार, ७ सय, ५० भवन निर्माणको लागि आर्थिक सहयोग गरेको सचिव खवाहाङले बताएका छन् ।

उता धनकुटाको हात्तिखर्क घर भै हाल युकेमा वसोवास गरिरहेका विश्वासदिप तिगेला खेवाले २ लाख, ६८ हजार, ७ सय ५०, छथरजोरपाटी–३ घर भै हाल यूकेमा वसोवास रहेका लोकेन्द्र तुम्वाहाङले २ लाख, ६८ हजार, ७ सय, ५० आर्थिक सहयोग गरेको निर्माण समितिका पुर्व अध्यक्ष घनेन्द्र तुम्वाहाङले बताए ।

त्यसैगरी छथरजोरपाटी–३ स्थायी घर भै हाल यूकेमा वसोवास रहेका प्र्रेम खजुम पारघरीले २ लाख,६८ हजार, ७ सय ५० गरी जम्मा चार जनाको सहयोग रकम १० लाख, ७५ हजारले भवनमा महिला÷पुरुष शौचालय सहित ४ वटा कोठा  निर्माण गरिएको तुम्वाहाङले जानकारी दिए ।

हालसम्म चुम्लुङ भवनमा ४० लाख भन्दा वढी खर्चेर एउटा हल, ४ वटा कार्यालय सञ्चालनको लागि कोठा र महिला पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य हेमकुमार आङ्गलाले जानकारी दिएका छन् । उनले रकम अभावको कारण चुम्लुङ धनकुटाले निर्माण गरिरहेको २ तले भवन अधुरो नै रहेको बताए ।