पथरी । मोरङ कानेपोखरी गाउँपालिकामा चराउन ल्याएको मौरीले टोकेर एक जना पूर्वशिक्षक वृद्धको मृत्यु भएको छ ।

वडा नं. ५ स्थित भौसाबारी चोकका ८४ वर्षीय टीकाराम भट्टको मौरीले टोकेर मङ्गलबार मृत्यु भएको हो । भौसाबारी चोकमा चिया पिउन आएका भट्टलाई मौरीले टोकेपछि सख्त घाइते भएका थिए ।

तत्काल वडा नं. ६ रमाइलो चोकस्थित २४ घण्टे क्लिनिकमा लगिएको पनि उपचारको क्रममा दिउँसो २ः४५ बजे उनको मृत्यु भएको इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतमले बताए । उनी वडा नं. ४ बयरवन बजारमा रहेको जनता आधारभूत विद्यालयका पूर्वशिक्षक हुन् ।

भट्टसँगै मौरीले टोकेर घाइते भएका भौसाबारी चोकका २५ वर्षीय भुखलाल ऋषिदेव, २० वर्षीय जेनिसा राजवंशी, ६८ वर्षीय झवर यादव र ३९ वर्षीय मानबहादुर सुनुवार भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

झापाको शिवशताक्षी–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पार्वत अधिकारीले मौरी चरनको लागि घारसहित भौसाबारी चोकमा ल्याएका थिए । उनीहरूले प्रदेश नं.१–०१–००१ च. ७०८६ नम्बरको पिकअप गाडीमा राखेर मौरी चराउन ल्याएका थिए ।