ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये पाँचजनाले जिल्ला निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाएका छैनन् ।

 जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार प्रतिनिधिसभातर्फ जन समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्रबाट उम्मेदवार रहेका तीन जनाले निर्वाचन खर्चको विवरण दिएका छैनन् । यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) बाट जनता समाजवादी पार्टी नेपाल र (ख) बाट जनता समाजवादीकै प्रदेशसभा सदस्यका उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

 प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित विभिन्न पार्टीबाट ११ जनाको उम्मेदवारी रहेको थियो । यस्तै, प्रदेशसभा सदस्यका लागि प्रदेशसभा क्षेत्र (क) बाट एक स्वतन्त्रसहित आठ र ९ख० बाट सात जनाको उम्मेदवारी थियो । निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

 निर्वाचनमा खर्च गर्दा प्रयोग भएको बैंक खाता र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गर्नुपर्ने निर्वाचन कार्यालयको सूचनामा उल्लेख छ । तर खर्च विवरण बुझाएका २१ मध्ये एकजना बाहेकले बैंक खाता र खर्च गर्ने पदाधिकारीको विवरण बुझाएका छैनन् ।