भद्रपुर । भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित बीपी टोलमा घरमै राखिएको दुईवटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

आगजनी कसले र किन गरिएको हो भन्ने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ । भद्रपुरको सिर्जनशील सरस्वती मार्गस्थित राधाकृष्ण अधिकारीको घरमा राखिएका मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

पीडित अधिकारीले सोमबार राति साढे ९ बजेतिर त्रिपालले छोपेर राखेको मोटरसाइकलमा आगो बलेको देखेपछि तत्कालै आगो नियन्त्रणमा लिएकाले बढी क्षति हुन नपाएको बताए । उनका अनुसार मोटरसाइकलको पछाडिको भाग जलिरहेको अवस्थामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट प्रदेश १–०१–१२ प ५२३९ को पल्सर मोटरसाइकल पूर्णरूपमा क्षति भएको छ भने मे.७ प ९६९७ मा पनि क्षति पुगेको पीडित अधिकारीले जानकारी दिए ।

घरअगाडि पूर्णरूपमा गेट बन्द रहेका कारण पछाडिबाट मोटरसाइकल चोरी गर्न पसेका व्यक्तिले गेट फुटाउन नसकेपछि त्रिपालले छोपेका मोटरसाइकलमा आगो लगाएर भागेको हुनसक्ने उनले अनुमान लगाए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट आएको टोलीले घटनाको मुचुल्का बनाएर लगेको स्थानीय द्रोण अधिकारीले जानकारी दिए । यता जिल्लाका प्रहरी प्रवक्ता वसन्त पाठकले घटनाको विषयमा हालसम्म जानकारी प्राप्त नभएकाले आफूले सबै शाखामा बुझ्ने बताए ।