तेह्रथुम । तेह्रथुमको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । 

सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा बनाएका छन् ।

चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् । वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तीनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तीनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ ।

उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटक यतिबेला कात्तिकको अन्तिम सातादेखि नै दैनिक तीन हजारभन्दा बढी आइसकेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताए । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजका लागि बढी आउने गरेको उनको भनाइ छ ।

पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए ।

उनी भन्छन्, ‘वसन्तपुरदेखि गुफासम्मका होटेल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्म आसपासका क्षेत्रमा जिल्लाबाहिरका नागरिकलेसमेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।’ पदयात्राको आनन्द र हिमशृङ्खलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने स्थानीय ग्याल्जे शेर्पाले बताए ।