विराटनगर । विराटनगर–१० स्थित संसारी माईस्थानको खुल्ला ठाउँमा मतदान केन्द्र बनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ गरी तीनवटा मतकेन्द्रहरू स्थापना गरिएको छ । महिला र पुरुषको लागि छुट्टाछुट्टै लाइन बनाइएको छ । अपाङ्गता भएका व्यक्ति, असक्त, ज्येष्ठ नागरिकहरूका लागि पनि छुट्टै लाइन रहेको छ । शुक्रबार दिउँसो मोरङको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने विराटनगर–१० संसारी माईस्थानमा मतदानस्थलको तयारी पूरा भएको जनाइएको छ ।

आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा रहेको ३ सय ६ वटा मतदानस्थलमा ८ सय ३९ वटा मतदान केन्द्र स्थापना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘निर्वाचनमा खटेका कर्मचारीहरूलाई शुक्रबार दिनभरि मतदान केन्द्र बनाउनेलगायत तयारीमा भ्याई नभ्याई भयो । ‘मत खसाल्ने मतदान केन्द्रहरू बनिसके, कर्मचारीहरू खटिनुभएको छ । शान्तिपूर्ण किसिमले मतदानको तयारी गरिएको छ’ सूचना अधिकारी बुढाथोकीले भने, ‘निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मोरङका सम्पूर्ण मतदानस्थलमा कर्मचारी पुगेर पनि काम थालिसकेका छन् ।’

मोरङमा ६ हजार ७ सय १२ जना कर्मचारी परिचालन भएको उनले बताए । एक हजार ६५ भन्दा बढी मतदाता भएका मतदानस्थलमा ‘क’, ‘ख’ र ‘ग’ गरी मतकेन्द्रहरू स्थापना गर्ने गरिएको छ । मोरङमा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र ६ र प्रदेशसभाको १२ वटा निर्वाचन क्षेत्रमा गरी १८ जना जनप्रतिनिधिका लागि २ सय १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभातर्फ  १ सय १० जना उम्मेदवार रहेका छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जिल्लामा निर्वाचन केन्द्रित सुरक्षा प्रबन्ध पनि दुरुस्त बनाएको उनले बताए । ‘सुरक्षा संयन्त्रसँग हाम्रो समन्वय राम्ररी भएको छ, दलहरूबाट पनि राम्रो सहयोग भएको छ’–उनले भने । 

मोरङमा १ सय ४४ वटा मतदान केन्द्र संवेदनशील र १ सय १२ वटा सामान्य रहेकोले त्यहीअनुसार सुरक्षा व्यवस्था गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मोरङका मतदानस्थलमध्ये विराटनगरको दक्षिणी भेगमा पर्ने ९ वटा मतदानस्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रका मतदानस्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ । अति संवेदनशील मतदानस्थल पहिचान गरी त्यसैअनुसार त्यहाँ सुरक्षा बल, मोबाइल गस्तीलगायत परिचालन गरिएको उनले जानकारी दिए । सीमावर्ती ठाउँ, जनघनत्व बढी भएको ठाउँ र विगतमा सुरक्षा चुनौतीहरू भएका ठाउँ अति संवेदनशील र त्यसबाहेक भीडभाड तथा मानिसहरूको उपस्थिति बढी हुने ठाउँ संवेदनशील र यी दुइटैमा नपर्ने ठाउँ सामान्यमा जिल्ला सुरक्षा समितिले राखेको छ । सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी काम गर्ने गरी ७ हजार ४ सय प्रहरी परिचालन गरिएको उनले बताए ।