धरान । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै बिहीबार मध्यरातिदेखि भारत र चीनसँग जोडिएका सीमा नाका बन्द गरिएको छ ।

सरकारले निर्वाचनलाई लक्षित गर्दै दुवैतिरका नाका बन्द गर्न लागेको हो । बिहीबार रातिदेखि सुरु भई मङ्सिर ४ गतेको मतदान सकिएपश्चात् मात्रै खुल्ला हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले भारत तथा चीनसँग सीमा जोडिएका नाकामा अत्यावश्यकबाहेक आवत–जावत पूर्णरूपमा ठप्प पारेको जनाएको छ ।

भारतसँगका केही नाका खुल्ला रहे पनि चीनसँगका निश्चित नाका मात्रै खुल्ला गरिने सरकारले जनाएको छ । गृह मन्त्रालयका अनुसार चुनाव अवधिभरलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नाका बन्द गर्न लागिएको हो ।

सामान्यतः भारत तथा चीनमा चुनाव हुँदा पनि नेपालको सीमा नाका बन्द गरिँदै आएको छ । चुनावलाई स्वच्छ, पारदर्शी र निष्पक्ष तथा भयरहित बनाउनका लागि नाका बन्द गरिँदै आएको जिल्ला प्रशासन कार्यालयहरूले पनि जनाइसकेका छन् ।