इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का जनतासामु नेटवर्क समस्या कुनै नौलो विषय हैन । तर, स्वयम् सञ्चारमन्त्रीकै क्षेत्रमा नेटवर्क नहुनु भनेको चाहिँ सर्वत्र चासोको विषय पक्कै हो । 

यही विषय यतिबेला सुनसरी ४ का जनतामाझ खुबै चर्चामा छ । स्वयम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाषणमा बोल्दै आएको अत्याधुनिक फाइबर प्रविधिको विकास केही सुगम र पायक स्थान बाहेकका बासिन्दाले अनुभूत गर्न पाएका छैनन् ।

नेटवर्क समस्या सुनसरी ४ को उत्तरी भेगमा केही सहज देखिए पनि सो क्षेत्रको दक्षिणीसहितको ठूलो हिस्सा नेटवर्क समस्याबाट गुज्रिँदै आएका छन् । सदरमुकाम आसपासका ग्रामीण भेगका बासिन्दाका लागि समेत मोबाइलमा नेटवर्क नटिप्ने समस्या ज्यूँका त्यूँ छ । 

नेपाल टेलिकमको होम टु फाइबर नेट सेवा विस्तारलगायतका औपचारिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सुनसरी आफ्नो प्राथमिकतामा रहेको बताउँदै नेटवर्क समस्या समाधान भैसकेको बताउने गरेका छन् । यद्यपि आम सर्वसाधारणले वास्तविकता भने कार्कीले बोलेजस्तो नभएको बताइरहेका छन् । उक्त विषय पटक–पटक समाचारको विषय बन्दै आएको समेत छ ।

चुनावी परिवेश भएकाले परिचय खुलाउन नचाहे पनि अधिकांश जनता नेताका नारा केवल भाषणमा सीमित बनेको बताउँछन् । उनीहरू सञ्चारमन्त्रीकै क्षेत्रमा नेटवर्क समस्या हुनु लाजमर्दो विषय भएको बताउँछन् । विदेशबाट हालसालै घर फर्किएका एक युवा भन्छन्, ‘कामबाट केही समय फुर्सद मिल्दा घरपरिवारलाई सम्झेर विदेशबाट फोन ग¥यो भने फोन नै लाग्दैन ।

सम्पर्क हुन सकेन भनेको सुन्दा पनि दिक्क लागेर आउँछ ।’ सुनसरी ४ कै सर्वसाधारण एक गृहिणी भन्छिन्, ‘टावरवाला मन्त्री । टावर वाला मन्त्रीले टावर त दिन सकेन । खै के को विकास । आफू त घरभान्साबाहेक जान्दिनँ तर, मोबाइल चलाउने भएकाले नेटवर्क नभएको चैं जान्दछु । नेटवर्क नै हुँदैन ।’ उनले थपिन््, ‘फोनमा कुरै हुँदैन । नेटवर्क नआएजस्तै मन्त्री कार्कीसमेत आफ्नो गाउँघरमा कहिले आएनन् । सायद चुनाव आयो अब आउलान् ।’

बाटोमा भेटिएका एक स्थानीय वृद्ध बाको समेत आफ्नै दुःखेसो छ । उनले कोसीको पुल बन्दै गर्दाको अनुभूति सुनाउँदै भने, ‘निकै ठूला आश्वासन बाँडिए । अहिलेका नेताले समेत आश्वासन दिइरहेका छन । तर, केही भएन ।’ सोचेजस्तो परिवर्तनको महसुस आफूले गर्न नपाएको उनको भनाइ छ । 

सञ्चार मन्त्रालयले नेपाल टेलिकमको स्तरोन्नतिसहित फाइबर नेट सेवा थालेको धनकुटापछिको दोस्रो जिल्ला हो, सुनसरी । गुणस्तर सुधार हुँदै गएको मन्त्री कार्कीको दाबी रहे पनि आम जनताले भने सो कुराको अनुभूत गर्न नपाएको बताउँदै आएका छन् । जुन विषयलाई यतिबेला सुनसरी ४ का आम मतदाताले जोडतोडका साथ मुद्दाका रूपमा उठाएका छन् । जसलाई एमाले र काङ्ग्रेस दुवै दलका उम्मेदवारले आफ्नो चुनावी एजेन्डाको प्राथमिकतामा राखेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।