धनकुटा । धनकुटा नगरपालिका–९ मूलघाट घर भएका छत्रमुखी साङ्पाङ राईको आइतबार तमोर नदीको पक्की पुलबाट झरेर मृत्यु भएको छ ।

८२ वर्षीय वृद्ध कसरी मोटर कुद्ने पुलबाट झरे भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । मूलघाट प्रहरी चौकीका इन्चार्ज असइ कपिलश्वर स्वर्णकारका अनुसार घटना बिहान साढे १० बजेतिरको हो । उनी पुलबाट कसरी झरे भन्ने कसैले पनि नदेखेकाले हाल अनुसन्धानकै चरणमा रहेको प्रहरीले जनाएको छ ।

मलामी आएका मान्छेहरूले वृद्ध मान्छे झर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । साङ्पाङको श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानीय होटल व्यवसायी यज्ञबहादुर थापाले बताए । मृतक राईका छोराबुहारी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् ।

मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको असइ स्वर्णकारले बताए । पुलको छेउमा शीतल ताप्न बसेका कारण सवारी साधनले साइड मिचेर आउँदा साइड लाग्न खोज्दा आत्तिएर लडेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । तर, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेकाले यसै भन्न सकिने अवस्था नरहेको जनाएको छ ।