मोरङ । विराटनगर महानगरपालिका–६ मा नगरबासीको सहभागिता र लगानीमा सेल्फी पुल निर्माण भएको छ ।

पुल बनेसँगै वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन् । त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो । निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार पहिले प्रदेश नम्बर १ सरकारले बजेट विनियोजन गरेपनि पुल निर्माण हुन सकेको थिएन । हाल आफै लगानी गरी स्थानीयबासीले फलामको ट्रस हालेर पुल निर्माण गरेका हुन् ।

गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट कुल १० लाख ६९ हजार एक सय ९१ रूपैयाँ लागत अनुमानसहित बजेट विनियोजन भएको थियो । गत असार १९ गतेबाट ३२ फिट लम्बाइ र ६ फिट चौडाइको पुल निर्माण भएको हो ।