वराहक्षेत्र । दशैं, तिहार सकिए लगत्तै नेपालीहरूको साझा एकता तथा लोकआस्थाको प्रतिक प्रसिद्ध छठ महापर्व सुरु भएको छ । दीपावलीको देउसी–भैलोको रमाइलो सकिन नपाउ“दै घर–घरमा छठीमाताको गीत गुञ्जन थालेसँगै शुक्रबारबाट छठ पर्वको सुरुवात भएको छ ।

यसै क्रममा शुक्रबारबाट सुरु भएको पर्वको लागि वराहक्षेत्रको चतरामा पनि प्रसिद्ध छठ पूजाको तयारी पूरा गरिएको छ । ४ दिनसम्म मनाइने पर्वको लागि विभिन्न समितिहरू गठन गरी नदी किनारको छठघाटलाई सजिसजाउ गरिएको छ । प्राचीन हरिद्वार चतराधामको सप्तकोशी किनारस्थित छठघाटमा महापर्वको लागि घाट सरसफाइ, रङरोगन, बत्ती जडान, यसैगरी प्रसाद वितरणस्थल साजसज्जा गरिएको सूर्यनारायण मन्दिर तथा छठ महापर्व संरक्षण समितिका अध्यक्ष केदार साहले बताए ।

प्रत्येक वर्ष पर्वको समापन हुने दिनमा विशेष कार्यक्रमको आयोजना गरी नगरका विभिन्न धार्मिक, सामाजिक, व्यावसायिक, शैक्षिक संस्था, बुद्धिजीवी तथा स्थानीय जनसमुदायलाई प्रसाद वितरण गर्ने गरिएको अध्यक्ष साह बताउँछन् । कात्तिक १४ गते सूर्योदयसँगै सम्पन्न हुने पर्वमा पहिलाजस्तै यसवर्ष पनि प्रसाद वितरणलगायतको कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष साहले बताए ।

कात्तिक शुक्लपक्षको चतुर्थी तिथिका दिनबाट विधिवत् रूपमा सुरु हुने पर्व सप्तमीको दिन समाप्त हुन्छ । पानी नखाई निराहार नहाय खायबाट सुरु हुने ब्रतालुहरू पर्वको तेस्रो दिन अस्ताउ“दो र चौथो दिन उदाउ“दो सूर्यलाई दूध र पानी मिसिएको पवित्र जल अर्घ चढाएर पर्व समापन हुने गर्दछ ।

करिब दुई दशकदेखि छठ पूजा गर्दै आएकी वराहक्षेत्र वडा नं. २ सूर्यचौककी सीता पौडेल अहिले उमेरले ६२ नाघे पनि आस्था भने उस्तै रहेको बताउँछिन् । धेरै वर्ष अगाडि जनकपुरमा श्रीमान् विजय पौडेलसँगै ब्रत बस्न सुरु गरेकी उनले शरीरले साथ दिएसम्म ब्रत बस्ने र पूजा गरिन् ।

त्यसपछि नसकेपछि अहिले उनकी ३८ वर्षीया बुहारी रक्षा पौडेलले १५ वर्षदेखि ब्रत लिँदै आएकी छन् । ‘छठको आफ्नै खालको विशिष्ट महत्व छ, किनभने सूर्य भगवान् सबैको साझा हुने अनि हामी मानवजातिमा किन भेद नि ! सूर्यको आराधनाले सबैको हित हुने अनि घरपरिवारको सुख, समृद्धि बढ्नेछ’–सीता पौडेलले भनिन् । यता रक्षाले भने छठीमैयामा आफ्नो ठूलो आस्था रहेको बताइन् ।

विश्व बन्धुत्व र आपसी भाइचारा एवम् चराचार जगत्को कल्याणका लागि जातजाति, धर्म सम्प्रदाय आदिबाट माथि उठेर मानव जातिको हित तथा प्रकृतिलाई धन्यवाद तथा आभार प्रकट गर्ने छठपर्व सोमबार समापन हुनेछ ।