विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । 

प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।

टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए। 

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाइ गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनिहरुले हरेक वर्ष यसरी नै सफाइ गरिदिन आग्रहसमेत गरेका थिए । 

स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाइ गरेकामा धन्यवादसमेत दिएका थिए । प्रमुख कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए ।