भद्रपुर । भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित २४ लाख ७३ हजार ७४६ रुपैयाँको लगानीमा देवकोटाको शालिक पुनः निर्माण गरिएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनसँगै जोडिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा तथा पार्क पुनः निर्माण गरिएको हो ।

२०७८ भदौ १४ गते अज्ञात समूहले सो शालिक तोडफोड गरी शालिकमा क्षति पुर्याएपछि राजमार्गको मापदण्ड अनुसार सडकको बीचबाट संरचना हटाउँदै चन्द्रगढी वन समितिले भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित पार्क निर्माण गरेको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा निर्माण गरिएको सो पार्कको महाकवि देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर उदघाटन समेत गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङगाप्रसाद उप्रेतीले महाकवि देवकोटाको अर्धकदको शालिकको अनावरण गर्दै पार्कको उदघाटन गरेका थिए ।  वि.सं २०५१ सालमा मेची राजमार्ग अन्तरगतको चाराआली केचना सडक खण्डको बीचमा स्थापना गरिएको महाकवि देवकोटाको शालिकमा ठोक्किएर धेरै सवारी दुर्घटना हुँदा मानवीय क्षति भइरहेको अवस्थामा  देवकोटाको शालिक पुनः निर्माण गरेको वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

देवकोटा पार्क निर्माणका लागि भद्रपुर नगरपालिकाले १३ लाख ४५ हजार रुपैयाँ र अपुग रकम वन समितिले दिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।