बिर्तामोड । नगर प्रहरीले बिर्तामोडको सडक किनारामा जथाभावी रुपमा फोहोर फाल्दै गरेको अवस्थामा मोटर साईकल, स्कुटर र साईकल नियन्त्रणमा लिएको छ ।

बिर्तामोडको नयाँ बसपार्क पस्ने सडक नजिकै चिया बगान क्षेत्रमा सोमबार राती फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले सि सवारी साधन नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।

प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र एउटा साईकल नियन्त्रणमा लिएको जनाएको छ ।

यस क्षेत्रमा जथाभावी रुपमा फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगर प्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा सोमबार बिहान मात्रै सरसफाई गरिएको थियो ।

नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा बुझाइएकोे छ । नगरपालिकोले जथाभावीरुपमा फोहोर फाल्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिएर कानून अनुसार कारवाही गर्दै आएको छ ।