धरान । अभद्र व्यवहार गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका–१० का नेपाली काङ्ग्रेसका वडा सभापति प्रकाश कोइरालालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

स्थानीय छिमेकीलाई मादक पदार्थ सेवन गरी गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार भदौ २५ गते घटना भएपश्चात् छिमेकी सोनम अधिकारीले भदौ २६ गते प्रहरीमा निवेदन दिएकी थिइन् । निवेदनका आधारमा असोज १ गते पक्राउ गरी आइतबार म्याद थप गरिएको उनले जानकारी दिए ।

स्थानीयका अनुसार वडा सभापति कोइरालाले प्रहरी प्रशासनमा आफ्नो पहुँच भएको र इटहरी उपमहानगरका प्रमुख पनि आफ्नै मान्छे भएको भन्दै धाकधम्कीको शैलीमा गालीगलौज गरेका थिए ।

मापसे गरी रातिको समयमा अपशब्द बोलेपछि छिमेकीले उजुरी दिएको हो । उजुरीका आधारमा पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी इन्स्पेक्टर भीम खड्काले जानकारी दिए । अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने गर्दछ ।