विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । 

संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो । 

अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकज राज नेपालको टीमले बालिकाको मष्तिकमा रहेको  ६ सेन्टिमिटर  ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । हिडडुल र राम्रोसँग बोल्न नसकेर सपना ओछ्यानमा थला परेकी थिइन् ।

साउनको अन्तिम तिर संखुवासभाबाट आमा जानुका जोगीले छोरी सपनालाई लिएर विराटनगरको हस्पिटल आएकी थिइन् । उनले छोरीलाई विराटनगरको एक प्रख्यात हस्पिटलमा लगिन । त्यहाँ उपचार नहुने बताएपछि आफन्तको सहयोगमा जानुकाले छोरीलाई आर्या न्यूरो हस्पिटलमा १ भदौमा लिएर आइन् । ‘आर्या न्यूरो हस्पिटलको चिकित्सकलाई देखाएपछि डा. पंकज राज नेपालले छोरीलाई सकभर बचाउने प्रयास गर्छु भन्नुभयो । त्यसपछि भदौको पहिलो साता छोरोको शल्यक्रिया भयो ।

शल्यक्रियापछि अहिले छोरी राम्रोसँग हिडडुल गर्न सक्ने भएकी छिन्,’ आइतबार डिस्चार्ज भएपछि घर जाने तयारीमा रहेकी जानुकाले भनिन्, ‘छोरीले नयाँ जीवन पाएकी छिन् । अरु हस्पिटलले माया मारेर घर पढाएको छोरीले पुनः जन्म पाएकी छिन् ।’ छोरीको उपचारमा खटेर जीवन बचाइदिने चिकित्सकप्रति उनी कृतज्ञ छिन् । 

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. नेपालले बच्चामा हुने ब्रेन ट्युमरको आठ घण्टा लगाएर सफल उपचार गरेको बताए । ‘बच्चाको मतिष्कमा ठूलो ट्युमर रहेको थियो । जसले  पानी बल्क पनि गरेको थियो  । जसले गर्दा आँखा नदेख्ने, चक्कर लाग्ने, हिडडुल गर्न नसक्ने खालको लक्ष्ण देखा परेको थियो । ट्युमरले ब्रेनलाई थिचेको कारणले यस्तो समस्या भएको थियो ,’ उनले भने, ‘शल्यक्रिया गरेपछि ६ सेन्टिमिटर ठुलो ट्युमर निकालेका छौं । अहिले बच्चाको स्वास्थ्य अवस्था सुधार भएकाले डिस्चार्ज दिएका छौं ।’

आर्थिक अवस्था नाजुक रहेको जोगी परिवारले उपचारपछि भएको खर्च पूर्ण रुपले भुक्तानी गर्न नसकेर पिर मानिरहेको अवस्थमा हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत  विशेष सौलियत दिएर बच्चालाई घर पढाएको अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । 

स्थापनाको छोटो समयमा आर्या न्युरो अस्पतालले दर्जन बढी जटिल प्रकृतिका बिरामीको सफल उपचार गरेको छ । जसको कराणले आर्या न्यूरो हस्पिटल विरामीहरुका लागि भरोसाको केन्द्रको रुपमा स्थापित हुदै गएको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।