विजयपुर ।  धरान उपमहानगरले फुटपाथका पसलहरू हटाउन सुरु गरेको छ ।

शनिबार नगरले धरान–२ को नरेन्द्रपथमा रहेको फुटपाथ पसल हटाएको हो । धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धेरै गुनासो आएकाले हटाएको बताए ।

उनल ड्रेनमाथि राखेका, झुण्ड्यााएका सामानहरू बरामद गरेको बताए । सामान सभागृहमा राखिएको छ । उनले पहिले नै सूचना गरेकाले सामान्य जरिबाना गरेर समान फिर्ता गर्ने बताए ।

नगरले भानुचौकदेखि पश्चिम नरेन्द्रपथ, सब्जीमण्डीलगायतका स्थानमा सडक नै ढाकेर खाट राखेर, प्लास्टिक टाँग्नेलगायतको फुटपाथ व्यवस्थापन गर्ने निर्णयअनुसार सूचना जारी गरिरहेको छ ।

सूचना जारी गरेपछि पनि अटेर गरेकाले सामान बरामद गर्नपरेको नगरपालिकाको कार्यालयले जनाएको छ । अधिकृत सापकोटाले धरानको मुख्य बजारक्षेत्रको फुटपाथ व्यवस्थापन गर्ने बताए ।