भदपुर । भद्रपुर–केचना सडक–खण्ड अन्तर्गत पृथ्वीनगर स्थित देउनिया खोलाको पुलमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी पुलमा हिँड्दै गरेकी भद्रपुर–९ गैरीगाउँ बस्ने २३ वर्षीया तुलसा खवास भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनकी २ वर्षकी छोरी लुकुसा तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । आमा तुलसालाई ट्रकले सोहोरेर लैजाँदा उनी उछिट्टिएकी थिइन् ।
इँटा बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रेम इँटाभट्टा उद्योगको प्र–१–०१–००–१ ख ३६५९ नम्बरको ट्रक पुलको रेलिङ भत्काएर खोलामा झरेको हो । दुर्घटनामा ट्रकमा सवार बिर्तामोड–२ बस्ने २४ वर्षीय अनिल हस्दा, सोही ठाउँ बस्ने ५२ वर्षीय बुधलाल राजवंशी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालक पाँचथर हिलिहाङका २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूलाई मेची अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिर्तामोडको बी एण्ड सी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण ट्रक अनियन्त्रित भई आमाछोरीलाई ठक्कर दिँदै खोलामा झरेको स्थानीयले बताएका छन् ।