भोजपुर । भोजपुरमा पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा शुरु गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा लागेका किसानको आय आर्जनमा बृद्धि गर्ने उदेश्यले कृत्रिम गर्भाधान सेवा आइतबार देखि शुरु गरिएको हो ।

पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिकामा पहिलो पटक कृत्रिम गर्भाधान सेवा सुरु गरिएको भोजपुर नगरपालिकाका पशु शाखाका प्रमुख सन्तोष कटुवालले बताए । पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन नगरपालिकाको अनुदान सहयोगमा गाईभैँसीमा कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख कटुवालको भनाइ छ ।

पशु सेवा कार्यालयमा आउने किसानका गाई भैँसीलाई निःशुल्क कृत्रिम गर्भाधान गर्ने र किसानको गोठमा पुगेर नश्ल सुधार गर्नु पर्ने अवस्थामा भने सामान्य यातायत खर्च लाग्ने भएको छ ।

यस्तै जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै बर्षदेखि कृत्रिम गर्भाधान (एआइ) सेवा सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए ।

प्रमुख यादवका अनुसार तरल नाइट्रोजन १९६ डिग्री सेलसियसको चिसोपनमा राँगा, साँढेको बीउलाई लामो समय सम्म सुरक्षित राख्ने गरिन्छ । गाईभैँसीमा कृत्रिम गर्भाधान गराउदा उत्पादन वृद्धि तथा विकाश भएर उन्नत जातका पशु उत्पादन हुने प्रमुख यादवले जनाकारी दिए ।