बिर्तामोड । झापाका करेन्ट लागेर एकैदिनमा तीनजनाको मृत्यु भएको छ । जिल्लाका फरक फरक स्थानमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकैदिन तीनजनाको मृत्यु भएको हो ।
जिल्लाको बुद्धशान्ति, हल्दिबारी र मेचीनगरमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शनिबार बुद्धशान्ति गाउँपालिका– ३ मा कुलोको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा याङबरक गाउँपालिका–६ पाँचथर घर भई हाल बुद्धशान्ति– २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भिर घाइते भएको उनलाई स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउना साथ मृत्यु भएको थियो ।
त्यस्तै, मेचीनगर नगरपालिका– ५ स्थित हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मेचीनगर– ११ स्थित धाईजन निवासी ४७ वर्षीय सन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी, हल्दिबारी गाउँपालिका– ५ निवासी ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको छ । तीनवटै घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खोलामा करेन्ट लगाएर माछा मार्नु कानुनत बर्जित हो । तरपनि प्रशासनको आखा छलेर झापाका खोला नालामा करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दो छ । २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख छ, ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन ।’ सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।