देउराली । धरान ५ स्थित सामुदायिक टोल विकास संस्थाको अध्यक्षमा कविराज याखा निर्वाचित भएको छ । शनिबार स्थानीय चुम्लुङ डोजेको भवनमा सम्पन्न प्रथम साधारण सभामा याखाको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।
नयाँ चयन भएकाहरूमा संस्थाको उपाध्यक्ष हरि रम्तेल, कोषाध्यक्ष दिलमाया लिम्बु र सचिव पासाङ शेर्पा रहेका छन् भने सदस्यहरूमा मनमाया वाइबा, तेजबहादुर जिमी, खेमनाथ रिजाल, सूर्य बहादुर राई र लक्ष्मी श्रेष्ठलाई चयन गरिएको छ ।
चयन भएका नयाँ कार्य समितिलाई पूर्व अध्यक्ष स्वर्णीमहाङ फम्बो पूर्व काेषाध्यक्ष तथा सचिवले जिम्मेबारी हस्तानतरण गरेकाे छन् । जिम्मेवारी हग्रहण गर्दै नव निर्वाचित अध्यक्ष याखाले आगामी दिनमा टोलका सामाजिक तथा भौतिक विकासका लागी सम्पूर्ण टोलवासीहरूमा एकताको भावनालाई प्रेरित गर्दै टोलको समुन्नत र दिगो विकासको लक्षका साथ अघि बढ्ने बताए ।
पूर्व फम्बोले २०७४ निर्वाचित भएका जनप्रतिनिधिहरूले टोल विकाश संस्थाहरूलाई नसमेटेको गुनासो गरेका थिए । उनले वडाध्यक्षले एकलौटी ढङ्गले कार्यक्रमहरूको ल्याउने गरेको र टोल विकास संस्थाहरूसँग कुनै पनि प्रकारको समन्वयन नगरी बेवास्ता गर्नाले ५ नम्बर वडाका टोल विकास संस्थाहरू निष्क्रिय बन्न पुगेको आरोप लगाएका थिए। उनले भने " हामीले लगेका योजनाहरू डस्विनमै मात्र हालियो त्यही भएर पनि हामी निष्क्रिय जस्तै बन्न पुग्यौ । अब यस्तो हुँदैन भन्ने आस गरेका छौँ । "
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष मन प्रसाद लिम्बूले आफ्नो कार्यकालको भर्खर तीन महिना मात्र भएको धेरै कुराहरू अध्ययन कै चरणमा रहेको बताउँदै वडामा आउने व्यक्तिगत घटना दर्ता देखी ५ नम्बर वडामा हुने राष्ट्रिय योजनाहरूमा पनि टोल विकास संस्थाहरू सँगै हातेमालो गरेर जाने बताए ।
वडाध्यक्ष लिम्बूले भने " वडाध्यक्षले सबैलाई चिनेको हुँदैन त्यसैले पनि मिटर जडानका लागी टोल विकास संस्थाको निवेदन चाहिन्छ भन्ने हो । कुनै पनि टोलको बाटोमा रहेका पोलहरूमा बत्ती राख्ने देखी सम्पूर्ण योजनाहरूमा टोल विकास संस्थाको ठुलो भूमिका हुन्छ । टोल विकास संस्थाहरूको माग अनुसार वडाले योजनाहरू बनाउने छ । चाडै नै वडाका सबै टोल विकास संस्थाका पदाधिकारीहरूलाई अभिमुखीकरणको कार्यक्रम पनि वडाले आयोजना गर्ने छ । "
कार्यक्रमा वडा सदस्य द्वय विजय राई र शान्ता माया विश्वकर्मका साथै वडाकी सामाजिक परिचालिकाकाे समेत उपस्थिति रहेकाे थियाे ।