धरान । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा धरानमा ‘दोस्रो पिपुल सप लायन्स तीज उत्सव’ हुने भएको छ ।

लायन्स क्लब इन्टरनेसनको क्षेत्र–५ अन्तर्गत धरानका लायन्स क्लबहरूको आयोजना र पिपुल सप, धरान–९ को प्रायोजनमा भदौ ९ गते हुन लागेको तीज उत्सवमा तीज विशेष पहिरन तथा सौन्दर्य प्रतियोगीता, साङ्गीतिक कार्यक्रम, स्थानीय महिला समूहहरूले उत्पादन गरेका सामग्रीहरूको बिक्री तथा प्रवद्र्धन गरिने बताइएको छ । कार्यक्रममा तीज र कुसे औंशीलाई लक्षित गरी सहुलियत दरका सामग्रीहरूको स्टलसमेत राखिने बताइएको छ ।

धरान–१५ स्थित चुम्लुङ भवनमा हुने उत्सवमा मिस एन्ड मिसेज तीज २०७९, मिस÷मिसेज क्याटवाक, बेस्ट ड्रेस, बेस्ट वाक, हेयरलगायतका प्रतियोगिता, उत्कृष्ट एकल नृत्य, सामूहिक नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रम हुने लायन्स क्षेत्र–५ की क्षेत्रीय प्रमुख कविता लिम्बूले जानकारी दिइन् ।

उत्सवका अवसरमा स्टलहरूमा मेहन्दी, सारीलगायत सौन्दर्य प्रसाधन र खाद्यान्न सामग्रीहरूसमेत राखिने बताइएको छ । उत्सवमा शिक्षाका लागि एक रुपैयाँ सङ्कलन अभियान सञ्चालन गरिने र क्यान्सर पीडित कलाकार युमारानी लिम्बूलाई आर्थिक सहयोगसमेत प्रदान गरिने बताइएको छ ।