भोजपुर । भोजपुरमा विपतका घटनाबाट हुने क्षति कम गर्न विपतपूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ । विपतका घटना भएका बेला खोज तथा उद्धारमा सहज भन्ने उद्देश्यले जिल्लामा विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष ०७९–०८० का लागि विपत पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको छ ।

विपतका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । प्रजिअ घिमिरेका अनुसार विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अन्तर्गत केन्द्र देखि जिल्ला तह सम्म समिति निर्माण गरी कार्य योजना लागू गर्नु पर्ने भएकाले भोजपुरमा पनि कार्य योजना बनाई स्वीकृत गरिएको हो ।

जिल्लाको हकमा विपत प्रतिकार्य योजना तयारी गरी लागू गर्ने, जिल्ला स्तरमा रहेका आपत्कालीन केन्द्रहरू सञ्चालन गर्ने, उपलब्ध श्रोत साधनको प्रयोग गरी विपत प्रभावित क्षेत्रमा खोज तथा उद्धारका कार्य गर्ने जिम्मेवारी तोकिएकाले सोही अनुसार प्रतिकार्य योजना निर्माण भएको प्रजिअ घिमिरे जानकारी दिए ।

बैठकले भोजपुरका दुई नगरपालिका सहित सात गाउँपालिका प्रमुखको अध्यक्षतामा स्थानीय विपत व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा गठन भएका समितिहरूले विपत पूर्व तयारी प्रतिकार्य योजना निर्माण गरी  कामको विवरण जिल्ला विपत व्यवस्थापन समितिलाई उपलब्ध गराउनु पर्ने बैठकमा निर्णय गरिएको छ ।

यस्तै बैठकमा जिल्लाको षडानन्द नगरपालिका १४ बोयाको बिहीबारे बजारमा भएको आगलागीमा परि मृत्यु भएकी बालिकाको परिवारलाई राहत स्वरूप दुई लाख प्रदान गरिएको, आगलागी भएका परिवारलाई अहिले सम्म ३ लाख ११ हजार राहत प्रदान गरिएको साथै जिल्ला अस्पताल भोजपुरलाई १० वटा बेड खरिद गरी हस्तान्तरण गरिएको पनि जानकारी दिइएको छ ।

विपतको कारण घर पूर्ण क्षति भई बस्न नमिल्ने र अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्था आएमा घर निर्माण प्रक्रिया अगाडी बढाउन स्थानीय पालिकाहरूले तोकिएको कागजात तयार गरी सिफारिस गरी पठाउने निर्णय समेत बैठकले गरेको समितिले जनाएको छ ।