पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ र बालकक्षामा भर्ना भएका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

यसै शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूको परिवारलाई निःशुल्क बिमा गरिदिने भएको हो । गाउँपालिकाको १२ औं गाउँ अधिवेशनले चालु आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य बिमा कार्यक्रमको लागि ५० लाख विनियोजन गरेको थियो । गाउँ कार्यपालिकाको साउन २४ गते बसेको बैठकले ‘कानेपोखरी गाउँपालिकाको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि २०७९’ पारित गरेको थियो । स्वास्थ्य बिमा कसले, कस्तो अवस्थाका व्यक्तिहरूले पाउने भन्ने बारेमा गाउँपालिकाले सोमबार सूचना जारी गरेको छ ।

स्वास्थ्य स्वयम्सेविका र बालकक्षा शिक्षकका परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा सुविधा पाउने भएका छन् । त्यसैगरी क्यान्सर लागेका, मिर्गौला प्रत्यारोपण वा डायलाइसिस गरिरहेका, सिकलसेल एनिमिया लागेका, ओपन हार्ट सर्जरी गरेका, प्यारालाइसिस भएका र पार्किन्सन रोग लागेका व्यक्तिको परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा सुविधा पाउने भएका छन् ।

त्यसैगरी आफ्नो र सगोल परिवारको स्वामित्वमा जग्मा–जमिन भएका ऋषिदेव (मुसहर), सन्थाल, राजवंशी, धिमाल, मधेशी, मुस्लिम, दलित तथा अन्य सदस्यको परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा सुविभधा पाउने भएका छन् । तर, ऐलानी वा पर्ती जग्गामा पक्की संरचना घर बनाई बसोबास गरिरहेका एकासगोलको परिवारभित्रका कुनै सदस्यले सरकारी वा सामुदायिक वा निजी स्तरमा मासिक बीस हजार बढी सेवा÷सुविधाको रकम भुक्तानी लिइरहेको परिवारले भने बिमा सेवा पाउने छैन ।

स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रक्रियामा लान पालिकाको सबै वडामा पत्र पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । वडा कार्यालयहरूले कार्यविधिको अनुसूची १ मा व्यवस्था भएको ढाँचामा सूचना प्रकाशन गरी काम सुरु गर्नुपर्ने बताएका छन् ।