विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघासहित गठबन्धन दलका प्रतिनिधि मण्डलले धरानको विकासको लागि विभिन्न मन्त्रीहरूसँग भेट गरेका छन् । साथै एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी पनि विभाग तथा प्रमुखहरूसँग भेटघाटमा रहेकी छन् ।

सोमबार प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी विभिन्न प्रस्तावहरू गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले सर्दु पुलदेखि भञ्ज्याङसम्मको सडक निर्माण र सेउती खोला खाँकरडाँडामा पक्की पुल निर्माणका लागि बजेट व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका लागि तीनकुनेस्थित लाङ्घाली सामुदायिक वनमा ५ कठ्ठा जग्गा उपलब्ध गराउने बताएको जानकारी दिए । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बीपी पार्क, सभागृह मर्मत, नाटक घर निर्माण, हेलिप्याड निर्माण, सप्तकोसी कटान नियन्त्रण, बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरलगायत बृहत्तर विजयपुर विकास समिति निर्माण, विष्णुपादुका, रामधुनी, बर्जु ताल लगायतका स्थललाई धार्मिक पर्यटनको रूपमा विकास र ब्रान्डिङ गर्नका लागि बजेट माग गरिएको छ ।

पर्यटकीय खेलकुदलाई विकास गर्ने, धरान विमानस्थलको पृष्ठभूमिको अध्ययन गर्नेलगायतको विषयमा सकारात्मक छलफल भएको सभापति तामाङले बताए ।

प्रमुख राई र उपप्रमुख बेघासहित टोलीमा दलीय संयन्त्रका संयोजक किशोर राई, नेकपा (माओेवादी केन्द्र) का नगर इन्चार्ज फोक्वाहाङ सुब्बा ‘चोत्लुङ’, जसपाका नगर अध्यक्ष ताजुव लिम्बू, नेकपा (एकीकृत) समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काङ्ग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाईं रहेका छन् ।

प्रतिनिधि मण्डलमा जसपाका सङ्घीय अध्यक्ष अशोककुमार राई, पूर्वप्रदेश प्रमुख  डा. गोविन्द सुब्बा, सांसद् मीना सुब्बा, सांसद् सीताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भीम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काङ्ग्रेसका नेताहरू डा. तुलसी गौतम, प्रेम राई, काठमाडौं–सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्यलगायत पनि प्रतिनिधिमण्डलमा सहभागी थिए ।

आइतबार टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग विविध विषयमा छलफल गरेको छ । मन्त्री खापुङसँग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घाटा बजेट, शिक्षक कर्मचारीको वृत्ति विकास, एमआरआई मेसिन, आइसियु, डायलाइसिस, क्याथ ल्याव, कार्डियोलोजी सेन्टर र अङ्कोलोजी सेन्टर निर्माण, आर्थिक कारोबारलाई एकद्वार प्रणाली अवलम्बन गर्नेलगायतका बारेमा सकारात्मक छलफल भएको बताइएको छ ।

साथै मन्त्री खापुङ भदौ ५ गते प्रतिष्ठानको स्थलगत निरीक्षणमा आउने भएका छन् । वराहक्षेत्र नगरपालिकाको चतरा अस्पतालका लागि एम्बुलेन्स र शव वाहन खरिद गर्ने भएमा सम्पूर्ण कर छुट गर्नेसमेत भएको छ । भेटमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको उपस्थिति रहेको थियो । टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि भेट गरेको छ । भेटमा बहुभाषिक विद्यालय निर्माण र सञ्चालन, नगरपालिकाको सहकार्यमा  सिटिइभिटीबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने भएको छ । टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि भेट गरी धरानमा डाटा सेन्टर निर्माण गर्नेबारे छलफल भएको जनाएको छ ।

साथै धरानको समग्र विकासमा पूर्ण सहयोग गर्नेसमेत जानकारी दिएका छन् । यस्तै नेकपा (एमाले) का केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी पनि धरानको विकासका लागि काठमाडौंँ पुगेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो ५ वर्षे कार्यकालमा अपूरा आयोजनाहरू सम्पन्न गर्नका लागि लागिपरेको जनाएकी छन् । उनले ‘निर्वाचनको परिणाम ५ वर्षका लागि ! जनता र समाजप्रतिको जिम्मेवारी सधैँभरि’ लेखेकी छन् । उनले स्मार्ट बसपार्कलाई चालु आर्थिक वर्षमा छुटेको बजेट समावेश गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज  पौडेलसँग छलफल गरेको जनाएकी छन् ।

धरान–५ को अँधेरी खोलामा पक्की पुललगायतका परियोजनाका लागि भौतिक योजना मन्त्रालय तथा अन्य क्रमागत योजनाहरूको बजेटको निरन्तरता र थप योजना विस्तारका लागि सहरी विकास सचिव र अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुखसँग छलफल गरेको जनाएकी छन् ।