सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रमा चौपाया चोरको बिगबिगी बढेको छ । भारतसँग सीमा जोडिएको जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय चोरको बिगबिगी बढेको हो ।

प्रहरीले गस्ती गर्न छाडेपछि भारतका विभिन्न स्थानबाट आउने चोरहरूको समूहले रातिको समयमा गाई, गोरु र भैंसी चोरेर लाने गरेको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा दिनहुँजसो आउने चोरहरूले रातको समय गाई, गोरु र भैंसी चोरेर लाने गरेका छन् ।

ग्रामीण भेगमा सर्वसाधारण राति छिट्टै सुत्ने गरेको फाइदा उठाउँदै चौपाया चोरहरूले घरबाटै स्थानीयको चौपाया चोरेर लाने गरेका छन् । भारतको घुर्ना, अचरा, बबुवान, जटवारालगायत स्थानबाट सीमावर्ती क्षेत्रमा चौपाया चोर्न चोरहरूको समूह आउने गरेको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानबाट भारतीय चोरहरूले चोरी गरेर लगेका चौपाया बिचौलियामार्फत् पैसा लिएर छाड्ने गरेको स्थानीय लालबहादुर यादवको भनाइ छ ।

चोरहरूले चोरी गरेर लगेका चौपाया फिर्ता लिन बिचौलियामार्फत् पैसा माग्ने गरेका छन् । फिरौती रकम तिर्नेको चौपाया घरसम्म ल्याइदिने गरिएको र नदिनेको चोरहरूले नै बेच्ने गरेको अर्का स्थानीय मुस्लिम मियाँ बताउँछन् । भारतसँग सीमा जोडिएका क्षेत्रमा चोरी र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन् ।

सीमा क्षेत्रमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित गस्ती गर्न छाडेपछि सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेको बताइएको छ । जिल्लाको कोसी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका क्षेत्रमा चोरी तस्करीका घटना बढेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

त्यसक्षेत्रमा नियमित भारतीय चौपाया चोरको समूह चोरी गर्न गाउँ पस्ने गरेकोले चोरहरूको बिगबिगी रोक्न प्रहरीलाई थप निगरानी बढाउन उनीहरूले आग्रह गरेका छन् । भारतीय चोरहरूको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातमा वस्तु गोठमै सुत्ने गरेको श्रीपुरका जावेद मियाँको भनाइ छ ।

वस्तुभाउसमेत चोरी हुन थालेपछि स्थानीयवासी समस्यामा परेको उनको भनाइ छ । चोरीको घटना बढेको बारे प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि गस्ती नबढाएको स्थानीयको गुनासो छ । यता प्रहरीले भने जनशक्ति अभाव भए पनि नियमितरूपमा गस्ती गर्दै आएको बताउने गरेको छ ।

यसैबीच सुनसरीको कोसी र  भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा रातिको समयमा घरमा प्रवेश गरेर विभिन्न सामग्री चोरेको आरोपमा सुनसरी प्रहरीले दुई  जनालाई प्रकाउ गरेको छ । कोसी गाउँपालिका वडानम्बर १ को एक घरमा प्रवेश गरी घरको दराज फोडेर चोरी गरी फरार भएका इनरुवा नगरपालिका वडानम्बर २ का २१ वर्षीय विनोद शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्माले चोरीका सामानहरू भारतमा बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शर्मालाई पकाउ गरेको हो ।

चोरी गरिएका सामानहरू सुनसरीको लौकहीबाट बरामद गरिएको प्रहरीले जनाएको छ । शर्माले इनरुवासहित सीमावर्ती  क्षेत्रमा पटक–पटक घरका सटरहरू फोड्ने र रातिको समयमा चोरी गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ । चोरीमा संलग्न शर्मालाई चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ चिरौली चोकमा रहेको एक कस्मेटिक पसलबाट मोबाइल र साइकल चोरी गरी फरार भएका इनरुवा नगरपालिका वडा नं. ६ का २९ वर्षीय विनोद राम मोचीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रकाउ परेका मोचीविरुद्ध चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।