धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवशको अवसर पारेर धनकुटामा ‘नगर समृद्धिको सारथि’ नामक पुस्तकको शनिबार विमोचन गरिएको छ । 

धनकुटा नगरपालिकाको सहयोगमा मनकामना मिडिया हाउस धनकुटाले प्रकाशन गरेको नगर समृद्धिको सारथि नामक पुस्तकको एक समारोहको बीच विमोचन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवानलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा विशेष गरेर नगरपालिका भित्र आर्थिक, सामाजिक कार्य मार्फत समृद्धिको लागि लागेका कृषि, पशु, घरेलु उधोग, पर्यटन, सहकारी र टोल विकास संस्थाहरुमा स्थानिय सरकारले पुर्याएको सेवा प्रवाहलाइ ‘नगर समृद्धिको सारथि’ नामक पुस्तकमा समेट्ने प्रयास गरिएको छ । त्यसैगरी निजी फर्म वा संस्थाहरुले आर्थिक समृद्धिको लागि गरेको कार्यलाई जनचासो र सेवा प्रवाहको प्रभावकारिता, जवाफदेहिता र योगदानलाई पहिलो प्राथमिकतामा राखी पुस्तक मार्फत उजागर गर्न खोजिएको छ ।

पुस्तकको धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. यज्ञ प्रसाद गुरागाँई, उप–प्राध्यापक इच्छापुर्ण राई, कृषि अभियान्ता जीवन प्रसाद राईले पुस्तक माथि टिप्पणी गरेका थिए । उनीहरुले पुस्तकमा समेटिएको विषय वस्तु प्रेरणादायी भएको र अन्यले पनि अनुसशरण गर्न सक्ने वताए । पुस्तक प्रकाशनका वारेमा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले स्पष्ट पारेका थिए ।

सो अवसरमा फोनिज १ नम्वर प्रदेश समितिको तर्फबाट फोनिजका पुर्व केन्द्रिय सदस्यहरु स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा उपाध्यक्ष पदका शान्ता आङ्गवुहाङ, नेचा सल्यान गाउँपालिका सोलुखम्वुका उपाध्यक्ष विना राई, सुर्यदय नगरपालिका इलामका कार्यपालिका सदस्यमा निर्वाचित भएका खेम भुजेललाई सम्मान गरिएको थियो । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.७ घर भई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा फार्मेसी अधिकृत पदमा कार्यरत दिक्षिता लामालाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा  सम्पन्न शुभकामना आदन प्रदान तथा नगर समृद्धिका सारथि नामक पुस्तक विमोचन कार्यक्रममा फोनिजका संघिय समिति सल्लाहकार संजय सन्तोषी राई, प्रदेश नं.१ का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, नि–इन्चार्ज दिपिन राई, हालका इन्चार्ज भक्तशेर लिम्वु लगायतले सम्वोधन गरेका थिए । शुभकामना आदन प्रदान कार्यक्रममा फोनिजका सल्लाहकार, पदाधिकारी, कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।