धरान । वाम्बुले राई समाज (वाम्रास) नेपाल जिल्ला कार्य समिति सुनसरीले शुक्रबार धरान–१९ स्थित हरियाली सामुदायिक वन परिसरमा ढ्वाङ्कुम चाड मनाएको छ ।
वाम्बुले राईहरूले वार्षिक रूपमा मनाउने सांस्कृतिक चाड ढ्वाङ्कुम भव्यताका साथ मनाएको हो । ढ्वाङ्कुम पूर्णिमादेखि उँधौली सुरु भएको मानिन्छ । बिहीबार मोरङको याङ्शिलामा रहेको ‘लिब्जुसामा’ मा पूजाअर्चना गरिएको थियो ।
उक्त दिन शिकारी, खोलानाला, अन्नबाली राम्रो फलोस् फुलोस् भनेर पूजा गरिने सल्लाहकार एवम् पूर्व अध्यक्ष रामकर राईले जानकारी दिए । समाजका अध्यक्ष लाखमान राईको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष राजेन्द्र राई रहेका थिए ।
त्यस्तै विशेष अतिथि किरायाका केन्द्रीय सचिव दोर्पध्वज राई, किराया धरान उपमहानगर समितिका अध्यक्ष लोकेन्द्र राई, वाम्रास समाजका सल्लाहकार एवम् पूर्व अध्यक्ष धर्मराज राई, किराया सुनसरीका पदाधिकारी तथा सदस्यहरू, विभिन्न भाषिक तथा भातृ संस्थाहरूका पदाधिकारी एवम् प्रतिनिधिहरूको सहभागिता रहेको संस्थाका सचिव दिलन वाम्बुले राईले जानकारी दिए ।