बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले स्थापना गरेको डिकमान विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार कञ्चनजङघा एफएममा कार्यारत भिमा शिवाकोटीलाई प्रदान गरेको छ ।

पुरस्कारको राशी २५ हजार रुपैंयाँ रहेको छ । यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपी वान टेलिभिजनका झापा सम्बाददाता विष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बू पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही पाँच हजारसहित प्रसंशा पत्र रहेको छ ।

बिर्तामोडमा शुक्रबार एक समारोहको आयोजना गरी तीनजना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको हो । आदिवासी जनजाति पत्रकार महासंघको २३ औं स्थापना दिवस तथा महासंघ झापाको १० औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

पूर्वअध्यक्ष सम्मिलित प्रतिभा छनोट समितिले पत्रकार भिमा सिवाकोटीलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । २०५९ सालदेखि कञ्चनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी पूर्वउपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्बांग, माधब बिद्रोही, इन्द्रसिंह राजवंशी र कमन देवान पुरस्कृत भएका छन् ।