भद्रपुर । भद्रपुर नगरपालिका वडा नम्बर ७ को कार्यालयले वडाभित्र रहेका टोल विकास संस्थाका पदाधिकारीहरूलाई एक दिवसीय प्रशिक्षण कार्यक्रम प्रदान गरेको छ । वडा कार्यालयको क्षेत्र भित्र रहेका १३ वटा टोल विकास संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिएको हो । 

वडाबाट चुनिएर आएका संस्थाका नयाँ पदाधिकारीले गर्ने काम,कर्तव्य र अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । कार्यक्रममा प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धी इन्द्र प्रसाद ओलीले प्रशिक्षण दिएका थिए । वडा तथा नगरमा टोल विकास संस्थाले कार्यक्रम कसरी माग गर्ने र सम्पन्न गर्ने विषयमा प्रष्ट पारेका थिए ।

समुदायमा  आधारित सचेतना सम्बन्धी कानुनी व्यवस्थाका विषयमा अधिवक्ताद्वय दिपेन्द्र भट्टराई र उमा कार्कीले प्रष्ट पारेका थिए । पुरुष तथा महिलामाथि हुने घरेलु हिंसा, सम्बन्ध विच्छेद् लगायत  वडामा गर्नुपर्ने पाँच प्रकारका घट्ना दर्ताका कानुनी प्रक्रियाका विषयमा प्रशिक्षण दिएका थिए । 

त्यसै गरी नगरपालिका अधिकृत खेम प्रसाईँले स्थानीय तहमा टोल विकासको उदय र भूमिकाका विषयमा सहजीकरण गरेका थिए । यसै गरी वडा समिति तथा यसको काम,कर्तव्य र अधिकारका विषयमा सरल तरिकाले प्रशिक्षक विजय तिम्सिनाले प्रष्ट पारेका थिए ।

वडा समिति र टोल विकास संस्था एक अर्काका परिपूरक भएर काम गरेमा मात्र टोल तथा वडामा परिवर्तन ल्याउन सकिने अवधारणा प्रस्तुत् गरेका थिए । वडाका लागि टोल विकास संस्था कार्यदिशा भएकोले समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए । 

वडा अध्यक्ष अभिषेक ढुङ्गानाको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी,उपप्रमुख राधा कार्कीले संस्थाको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष ढुङ्गानाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य सीता गुरागाँइले गरेकी थिइन् । वडाका निर्वाचित जनप्रतिनिधि , वडा सचिव यमनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । संस्थाका ३९ जनाले लिएको तालिममा सहभागिका तर्फबाट सृजना टोल विकास संस्थाका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले तालिमको उपलब्धिका बारेमा धारणा राखेका थिए । 

भद्रपुर नगर क्षेत्रमा रहेका १० वटा वडा मध्ये टोल विकास संस्थालाई प्रशिक्षण सुरु गर्ने ७ नम्बर वडा कार्यालय पहिलो रहेका छ ।