वराहक्षेत्र । गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिएको भन्दै सरोकारवाले बन्द गराएको  १५  शय्याको प्राथमिक चतरा अस्पतालको काम कमअसल ईटा हटाउन शुरु भएपछिनिर्माण कार्य सुचारु भएको छ ।

ठेकेदारले अस्पतालको भित्ता बनाउँन लगाईएको कमअसल ईटा हटाउन थालेपछि १५ दिन अघि देखि बन्द रहेको काम शुरु भएको हो ।

करिव २ हप्ता अगाडी कमअसल बिडिआर ब्रान्डको ईटा मगाएको र प्लस्टर गर्ने बालुवाले ईंटा जडान गरिएको भन्दै काम बन्द गराईएको वार्ड नं २ का अध्यक्ष होम प्रसाद गौतमले बताए । वार्ड,अस्पताल व्यवस्थापन प्रशासन,अनुगमन समिति तथा नगरपालिकाले निर्माण स्थलको अनुगमन पछि बन्द भएको काम ठेकेदारले लगाइएको सबै ईटा भत्काएर अनुगमन समितिको निगरानीमा असली ईटा लगाउने सहमति गरेको वार्ड अध्यक्ष गौतमले बताए ।

ठेकेदार कम्पनी प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरले पटक पटक कमअसल ईटा प्रयोग गरिएको पाईएपछि, नगरपालिका वाट ईन्जीनीयर नविन खनाल, वार्ड अध्यक्ष गौतम र ठेकेदार वाट एक सदस्य रहने गरि तिन सदस्य निर्माण अनुगमन समिति समेत गठन गरिएको र समितिले दिएको सहमति अनुसार मात्र काम गरिने गौतमले  बताए ।