विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाव दिने गरेको पाइएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा गएका ग्रामथान गाउँपालिका–७ का १९ वर्षीय आदित्य खाँ थारूका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई दबाव दिएर ‘बकपत्र’ मा बोलाएको दिन बयान फेर्न दबाव दिने गरेको पाइएको हो ।

गत वैशाख २९ गते ग्रामथान गाउँपालिका–७ तेतरियामा लागेको मेला जाने क्रममा राति ७ बजे थारूले ती बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत् मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतका न्यायाधीश भरत लम्सालको बाल इजलासले थारूलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

अहिले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाव दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाव दिने गरेका छन् ।

कहिले केटाको बाबु आउँछन् त कहिले आफन्तमार्फत् खबर पठाएर प्रलोभन देखाउने गरेका छन्’ पीडित बालिकाका एक आफन्तले भने, ‘आइतबार घरमा आएर अदालतमा हुने बकपत्रको बेला जबरजस्ती करणी गरेको होइन भनिदिनू, ७ लाख रुपैयाँ पैसा दिन्छु भन्दै हामीलाई प्रलोभन देखाउँदै आउने गरेका छन् । भनेको नमाने ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् ।’

प्रहरीमा उजुरी दिएर पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले आफूले नचिनेका व्यक्तिहरू घरमा आउने गरेको ती पीडित बालिकाले बताइन् । ‘नचिनेका व्यक्तिहरू घरमा आउने गरेका छन् । बयान फेर्नू भन्दै धम्की पनि दिन्छन् । नभए ठीक हुँदैन भनेर केही दिनअगाडि मोटरसाइकलमा आएका ४–५ जनाको समूहले धम्की दिएर गयो’ पीडितले बालिकाले भनिन्, ‘यसरी नचिनेका मान्छे घरमा आउँदा असुरक्षित महसुस गरेको छु ।’

विपन्न पीडित परिवारलाई पीडकका आफन्तले विभिन्न माध्यमहरूबाट अहिले दबाव दिने गरेका छन् । ‘प्रतिवादीका बाबुले पटक–पटक फोन गर्ने गरेका थिए । जे हुनु भइगयो । अब मिलेर अगाडि बढौं भन्दै फोन गर्ने गरेका छन् । त्यसपछि हामीले फोन उठाउन छोडेपछि विभिन्न मान्छेहरूबाट पीडितका बाबु, आमा, मामा र माइजूहरूलाई फोन गरेर कहिले विराटनगरमा भेटौं भन्छन् । कहिले घरमा पनि आइपुग्ने गरेका छन्,’ पीडितका आफन्तले भने, ‘पीडक पक्षबाट धेरै दबाव आएपछि हामीले प्रहरीमा पनि खबर गरेका छौं । अहिले पनि नचिनेका व्यक्तिहरू घरतिर आउन छोडेका छैनन् ।’

जबरजस्ती करणी मुद्दामा फैसला हुनुभन्दाअगाडि पीडित र साक्षीहरूको बकपत्र हुने गर्दछ । ‘अदालतको आदेशमा पनि कानूनको द्वन्द्वमा परेका बालक चुक्ता भइसकेको र प्रस्तुत मुद्दामा निरन्तर सुनुवाइ हुने भएकोले यथाशीघ्र जाहेरवाला, पीडितलगायतका वादी र नेपाल सरकारका साक्षी जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत् तथा कानूनको द्वन्द्वमा परेका बालकको साक्षी निजैमार्फत् झिकाई, उपस्थिति र बकपत्रका लागि नियमानुसार पेश गर्नू’ मोरङ अदालतले जारी गरेको आदेश पर्चामा उल्लेख छ ।

आदेशमा यथाशीघ्र बकपत्र गराउनुपर्ने उल्लेख गरेकोले पीडितलाई अदालतमा झिकाएर बकपत्रको तयारी गरिएको छ । त्यही भएर पीडिकका आफन्तले बयान फर्न दबाव दिने गरेको पीडितका आफन्त बताउँछन् । ‘अहिले दैनिकजसो फोन गर्छन् । फोन उठाएन भने घरअगाडि आएर प्रलोभन देखाउन थालेका छन्’–पीडितका एक दिदीले भनिन् ।

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाव दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारबाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधमा यसरी दबाव दिन मिल्दैन’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’