विजयपुर । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले साबुन फ्याक्ट्री खोल्ने निर्णय गरेको छ ।

बुधबार बसेको कार्यपालिकाको बैठकले साबुन फ्याक्ट्री खोल्ने निर्णय गरेको नगरका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले जानकारी दिए । उनका अनुसार फ्याक्ट्री खोल्ने निर्णय भए पनि कहाँ खोल्ने भन्ने एकिन भएको छैन ।

त्यस्तै खानेपानी व्यवस्थापनका लागि धरान–२० स्थित बानियाँटारमा जलकुण्ड निर्माण गर्ने निर्णय पनि भएको छ । बैठकले विद्यालयलाई कक्षा तथा विषय थपको अनुमति दिने निर्णय पनि गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माणको पारिश्रमिक निर्धारण व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै जथाभावी फोहोर गर्नेलाई सजाय गर्न नगर प्रहरीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली संशोधनको समयसम्म सङ्घीय नियमावलीका आधारमा काम गर्ने निर्णय पनि भएको छ ।

प्रशासनिक कार्यलाई व्यवस्थित गर्नका लागि कार्य सम्पादन सम्झौता पनि भएको छ । सम्झौता नगर प्रमुखले प्रमुख कार्यकारी अधिकृतसँग र अधिकृतले सम्बन्धित शाखा महाशाखासँग सम्झौता गर्नुपर्दछ ।

साथै, वैदेशिक रोजगारसम्बन्धी सामी परियोजना नगरले सञ्चालन गर्ने, घरनक्सालाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीमा लैजाने लगायतका १७ वटा निर्णय पास भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।