प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका छन् । बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न नदी करिडोरमा क्षति पुर्याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे । सांसद नारायणप्रसाद खतिवडाले  मङ्गलबार रातिको अविरल वर्षाका कारण नुवाकोट  जिल्लाका विभिन्न स्थानमा बाढी र पहिराले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गरे । सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्याको समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराए ।

सांसद दीपकप्रकाश भट्टले महाकाली सिँचाइ आयोजनाको निर्माण ढिलो भएको जनाउँदै तालुकदार मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद दुर्गाबहादुर राउतले जनयुद्धका क्रममा घाइते तथा अपाङ्गता भएका नागरिकले आवश्यक राहत तथा सुविधा पाउन नसकेको हुँदा तत्काल समस्या समाधान गर्न आग्रह गरे।

सांसद दुर्गाकुमारी विकले तरकारी तथा फलफूल आयात गर्दा गैरखाद्य पदार्थ रहे नरहेको परीक्षण गर्ने व्यवस्था भन्सारहरुमा जडान गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेलले बढ्दो आत्महत्याको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । सांसद देवप्रसाद गुरुङले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा संविधान र कानुनले रिक्तताको परिकल्पना नगरेको भन्दै उनले तत्काल कानुन ल्याउनुपर्नेमा जोड दिए ।

सांसद प्रकाश रसाइली स्नेहीले मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयभित्र अनियमितता भइरहेको गुनासो सुनिएको जनाउँदै यस्ता अधिकारीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सांसद प्रमिला राईले अविरल वर्षाका कारण उदयपुरका नागरिक  असाध्यै प्रभावित भएकाले उनीहरुको गाँसबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गरे। उनले काठमाडौँ उपत्यकाभित्र हेभी सवारी साधन चल्दा जनजीवन प्रभावित भएको जनाउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए ।