विराटनगर । प्रहरीले विराटनगरबाट ६१ केजी गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१४ स्थित भित्री सडक–खण्डबाट प्रहरीले बुधबार दिउँसो गाँजा बरामद गरेको हो ।

११ बजे को.२ ह ४६१० नम्बरको सिटीमा तीनवटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले सिटी र गाँजा बरामद गरे पनि सवारी चालकलाई पक्राउ गर्न सकेको छैन । चालक फरार रहेकोले खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । गाँजा विराटनगर–१४ जतुवा हुँदै भारत तस्करी हुन लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

भारतबाट तस्करी भएर आएको कपडा विराटनगरस्थित कोसी कोभिड अस्पतालबाट जतुवातर्फ जाने बाटोबाट तस्करी हुन लागेको प्रहरीलाई सूचना आएको थियो । ‘सिटीमा लोड गरेको तीनवटा सेतो बोरा रहेको थियो । सूचना दिने व्यक्तिले कपडा तस्करी भएर आएकोले त्यो सिटी रोक्यो । सिटीबाट उत्रेर चालक फरार भए ।

त्यसपछि सूचना दिनेले प्रहरीलाई खबर गरेर बोलायो । इप्रका रानीबाट खटिएको प्रहरी टोलीले बोरा खोलेर हेर्दा गाँजा रहेछ’ स्रोतले भन्यो, ‘त्यसपछि प्रहरीले बरामद गरेर इप्रका रानी विराटनगरमा लिएर गएको थियो ।’ अहिले फरार भएको चालक खोज्न प्रहरी लागिपरेको छ ।

प्रहरीले अहिले सिटीमा गाँजा बोकेर ल्याउने चालकलाई पक्राउ गरी गाँजाको तस्करी गर्ने गिरोहको खोजी गर्ने कार्य तीव्र बनाएको छ । प्रहरीले सोमबार पनि ३६ केजी गाँजा बरामद गरेको थियो । भारत तस्करी हुन लागेको यसअघि पनि १ सय ५६ केजी गाँजा बरामद गरेको थियो ।

प्रहरीले एक साताभित्रमा भारत तस्करी हुन लागेको २ सय ५३ केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरातमा भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको थियो ।

मोरङ जहदा गाउँपालिका –२ हरिनगरास्थित भारततर्फ तस्करी हुन लागेको प्लास्टिकमा प्याक गरी टाउकोमा बोकेर लाँदै गरेको ३६ केजी गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङ भरिया हुन् । उनले निश्चित रकम पाउने लोभमा तस्करीको गाँजा गन्तव्यसम्म पु¥याउने जिम्मा लिएका थिए ।

शुक्रबार मात्र बन्दाकोपी बोकेर भारततिर जान लागेको ट्रकबाट १ सय ५६ केजी गाँजा बरामद गरेको थियो । प्रदेश १–०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दाकोपी बोकेर हिँडेको ट्रकसहित प्रहरीले गाँजा र चालकलाई पक्राउ गरेको थियो ।