भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरि वडाबाटै बृद्ध भत्ता दिन थालिएको छ ।

बृद्ध बृद्धालाई भत्ता लिन सहज होस भन्ने उदेश्यले वडाबाटै भत्ता दिन थालिएको हो । प्रत्येक वडामा सञ्चालन गरिएको घुम्ती शिविरबाट अशक्त , अपाङग तथा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन शुरु गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

बुढेसकालमा गाउपालिका केन्द्र धाउन समस्या हुने भएकाले आफनै घर नजिकको पायक पर्ने ठाउबाट भत्ता दिन थालिएको उनले जानकारी दिए । आफनै वडाबाट भत्ता थाप्न पाए पछि लाभग्राहीको समय र पैसाको समेत बचत भएको अध्यक्ष राईको भनाइ छ ।

अध्यक्ष राईले भने ,‘‘गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा समस्या भएको देखेर अहिले वडा कार्यालयबाटै भत्ता दिन थालेका हौँ ,ज्येष्ठ नागरिक तथा अशक्तलाई गाउपालिका केन्द्र आउन अत्यन्तै समस्या छ , अब उहाँहरुले आफ्नो घर नजिकैको पायक पर्ने ठाउँबाट भत्ता लिन पाउनु हुने भएको छ ।’’

उपाध्यक्ष जोत्सना राईका अनुसार चौमासिक रुपमा सबै वडामा शिविर सञ्चालन गरि भत्ता दिने गाउपालिकाको योजना रहेको छ  । गाउँपालिकाबासी नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरी काम भैरहेको उपाध्यक्ष राईको दावी छ । वडाबाटै भत्ता पाए पछि गाउपालिका केन्द्र धाउनु पर्ने बाध्यता हटेको ठुलोदुम्माकी ९१ बर्षिय मिता राईले बताईन ।

वृद्धा राईले भनिन,‘‘सरकारले दिएको वृद्धा भत्ता लिन जान निकै समस्या थियो , गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिए पछि म जस्ता बुुढेसकाल लागेका धेरैलाई सजिलो भएको छ , आउने जाने समयको पनि बचत हुदा धेरै खुुसी भएको छु ।’’ यस्तै अर्का बृद्ध मनपाल राई पनि गाउमै भत्ता पाए पछि  खुुसी भएका छन् ।

गाउँपालिकाको कर्मचारीले आफ्नै वडामा आएर भत्ता दिन थाले पछि मिता र मनपाल जस्ता अशक्त , अपाङग तथा जेष्ठ नागरिक खुसी भएका हुन् । पौवादुङमा गाउपालिकामा १ हजार ४ सय ७१ जनाले भत्ता पाउदै आएको गाउँपालिकाले जनाएको छ ।