इनरुवा । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । मङ्गलबार साँझ समाचार तयार पार्दाको समयसम्मको मापनअनुसार नदीको बहाव २ लाख ४१ हजार ५ सय ३५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले बहाव अझै बढ्ने अनुमान गरिएको छ । नदीको जल सतह बढ्दै जाँदा चतरा मापन केन्द्रमा पानीको बहाव सतर्कता तह नजिक पुगेको छ ।

चतराको पछिल्लो मापनअनुसार कोसीको बहाव ५ दशमलव ५ मिटर तहमा छ । नदीको बहाव मङ्गलबार बिहानैबाट सतर्कता तह आसपास मापन हुँदै आएको छ ।

मापन केन्द्रका अनुसार नदीको बहाव ६ मिटर पुगे त्यसलाई सतर्कता तह मानिन्छ । ७ मिटर तहको मापनलाई भने खतरा मान्ने गरिएको छ । चतराको मापनमा पानीको बहाव सतर्कता तह आसपास पुगे कोसी ब्यारेजमा नदीको जल सतह थप बढ्ने कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार चतराको पानी ब्यारेजको मापनमा आइपुग्न कम्तिमा ३ देखि ४ घण्टा लाग्ने गर्छ । चतरा मापनमा देखिने उचार–चढावले कोसी ब्यारेजको मापनमा पानीको सतह थपघट हुने गर्दछ ।

यसैबीच नदीको बहाव क्रमशः बढ्दो क्रममा रहेसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लास्थित सुरक्षा निकायको टोलीले कोसी क्षेत्रको नियमित अनुगमन जारी रहेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीका प्रमुख विक्रम हुमागाईंले सबै स्परहरू सुरक्षित र खतरामुक्त अवस्थामा रहेको बताए । उनले सम्भावित विपद्लाई मध्यनजर गर्दै खोज तथा उद्धार टोली भने तयारी अवस्थामा राखिएको जानकारी दिए ।