विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम र नियन्त्रणको लागि प्रहरीले भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गर्ने भएको छ । 

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश १ को झापा, मोरङ र सुनसरीको भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा प्रहरीले साउन २० गतेबाट गस्ती गर्ने भएको हो ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराधजन्य गतिविधिहरू रोकथाम र नियन्त्रण गर्न प्रहरीले गस्ती सुरू गरिने १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । झापा, मोरङ र सुनसरी जिल्लामा भारतसँग सीमा जोडिएको क्षेत्र २ सय ७० किलोमिटर रहेको छ ।

सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन गरि दैनिक रूपमा गस्ती सुरू हुने डिआइजी गिरीले बताए । ‘सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराजधन्य गतिविधीहरूको सुष्म रूपमा अनुसन्धान गरेपछि गस्ती बढाउने हामीले निर्णाय गरेका हौं,’ डिआइजी गिरीले भने, ‘यसअघि मातहतका प्रहरी कार्यालयहरूबाट खटिएका प्रहरीले गस्ती गर्दै आएकै थिए । त्यसैलाई व्यवस्थित गर्दै थप प्रहरी परिचालन गरि सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी बढाएर गस्ती बढाउन लागेको हो ।’

२ सय ७० किलोमिटर सीमावर्ती क्षेत्रको गस्ती गर्न प्रहरी निरीक्षकको नेतृत्वमा ६ वटा टोली रहेको डिआइजी गिरीले बताए । ‘अहिले ६ वटा टोली बनाएर झापा,  मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा गस्ती हुनेछ । आवश्यकता अनुसार थप पनि हुनेछ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा खिटएका यो प्रहरी टोलीले चोरी, तस्करी र अपराधिक क्रियाकलापहरूको रोकथाम र नियन्त्रणमा खटिनेछन् ।’

भारतसँग सीमा जोडिएको तीन जिल्लामा सबैभन्दा बढी झापामा रहेको छ । झापामा १ सय ४४ किलोमिटर, मोरङमा ६३ र सुनसरीमा ३२ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्ला रहेको छ ।