विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा  चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए ।

सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन, मालिकलाल सारेन, नारायण बेसरा र शान्ति बेसराको घरमा चोरी भएको  उनले बताए । ‘चोरीको भएको सबै घरमा एक्कै प्रकृतिले चोरी भएको छ । घरमा भएको घरगहना र नगदहरू चोरी गर्न घरबाहिरबाट सुरूङ खनेको देखिएको छ,’ उनले भने, ‘बाहिर माटो झिकेर भित्र सुरूङ खनेको देखिएको छ ।’

पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । चोरीमा संलग्न समूहले टाटी भएका घरमा भत्काएर प्रवेश गरेका छन् । तर, पक्का किसिमको घरमा भने सुरुङ खनेर पसेका छन् ।

चोरीको घटनामा मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।