सुनसरी । सामाजिक विकृति रोकथाम तथा न्यूनीकरण गर्न युवाहरूको संस्थाले ऐक्यबद्धता जनाएको छ ।

मानव बेचविखन विरुद्धको दिवसको अवसरमा मानव बेचविखन तथा ओसार–पसार विरुद्धको पालिकास्तरीय अभियानकर्मीका लागि कोकन नेपाल सुनसरीको आयोजनामा भएको कार्यक्रममा युवाहरूको संस्थाले ऐक्यबद्धता जाहेर गरेको हो ।

कोसी गाउँपालिका–८ भण्टाबारी सीमामा घरदैलो कार्यक्रमअन्तर्गत मानव बेचबिखन विरुद्ध पर्चा वितरण, सन्देश तथा भिडियो प्रदर्शन कार्यक्रम गरिएको छ । स्थानीय अभियानकर्मी वीरेन्द्रकुमार कामैतले युवा अग्रसर भए देशले विकासमा गति लिने बताए । उनले अधिकांश युवापुस्ता अनेक जोखिमबाट गुज्रिरहेको बताए ।

सीमावर्ती क्षेत्रको वर्तमान सामाजिक अवस्था, लागूऔषध सेवन, ओसार–पसार एवम् कारोबार अनि त्यसबाट पर्ने असर र बच्ने उपायबारेमा सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका इन्स्पेक्टर भूवन खड्काले जानकारी गराए । उनले पूर्वमा लागूऔषध मुख्य चुनौतीका रूपमा देखिएकाले नियन्त्रणमा युवापुस्ताले अग्रसरता देखाउनुपर्ने बताए ।

सुनसरीमा भएका आपराधिक घटनाहरूमध्ये ७५ प्रतिशत घटना नसालु पदार्थ सेवनका कारणबाट हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले समुदाय प्रहरीको अवधारणाअनुसार सुनसरीमा सञ्चालित दुव्र्यसनविरुद्धको अभियानलाई तीव्रता दिइएको बताए ।

गाउँपालिकाले दाइजोप्रथा, बालविवाहलगायतका सामाजिक अपराध नियन्त्रण गर्न खासगरी विद्यार्थी, युवावर्गका साथै अभिभावकलाई समेत लक्षित गरेर सचेतना कार्यक्रम गर्दै आएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । लागूऔषध नियन्त्रणका साथै सामाजिक अपराध नियन्त्रणमा आफूहरू सहयोग गर्न तयार रहेको कोसी गाउँपालिकाका स्थानीय युवा शाहिद आलमले बताए ।

inaruwa