विजयपुर । आइतबार ११ बजे वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए । उनीहरू धरान उपमहानगर प्रमुख हर्कराज राईलाई सहकारी विरुद्ध आफूहरूले दिएको उजुरीको के भइरहेको छ भनेर बुझ्न र चाँडो न्यायका लागि दबाव दिनका लागि बेलुका ३ बजेसम्म प्रमुख राईलाई पर्खेर बसे ।

करिब ३ बजे मात्रै प्रमुख राई कार्यालय आइपुगे । पीडितहरूले वराह सहकारीको छानबिन प्रक्रिया किन अघि बढेन ? भनी करिब ३ सय हाराहारी उपमहानगरको कार्यालय पुगेका थिए । पीडितमध्ये छलफलका लागि पाँचजनालाई मात्रै कार्यकक्षमा आउन नगर प्रमुख राईले आग्रह गरे ।

छलफलका लागि पाँचजना प्रतिनिधि पठाउने छनोट गर्ने क्रममा प्रमुख राईले ‘मलाई सोधेर राखेको थियो र ?’ भनेपछि भीड अनियन्त्रित भएको वराह सहकारी पीडित खेमराज विश्वकर्माले बताए । उनले भने, ‘११ बजेदेखि वराह सहकारीको छानबिन प्रक्रिया अघि बढेन ? मेयर सा’पबाट नै जानकारी लिन गएका थियौँ । ३ बजे आएका प्रमुखले तपाईंहरू किन उफ्रनुभएको ? किन आउनुभएको हो ? तपाईंहरूले पैसा मलाई सोधेर राख्नुभएको थियो ? आफ्नै हिसाबले गर्नू, म केही गर्दिन भनेपछि भीड अनियन्त्रित बन्यो ।’

प्रमुख राईले गैरजिम्मेवार अभिव्यक्ति दिएको र माफी मागी शब्द फिर्ता लिन माग गर्दै अनियन्त्रित भीड नगर प्रमुखको कार्यकक्षमा प्रवेश गर्दै तोडफोडसमेत गरेका थिए । राई बस्ने कार्यकक्षको झ्यालको सिसासमेत फुटेको थियो । अनियन्त्रित बनेको भीडलाई नेपाल प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

अनियन्त्रित भीड प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । पीडितहरूले प्रहरी दमन गरेको बताएका छन् । पीडितरूले अमर्यादित अभिव्यक्ति दिने ‘हर्क साम्पाङ’ राजनीनामा दे’ नारा लगाए । उनीहरूले प्रमुख र उपप्रमुखले वराह सहकारीका सञ्चालकसँग मिलेमतो गरेको आरोपसमेत लगाए । प्रहरीले भीड नियन्त्रणका लागि सामान्य बलसमेत प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोग गर्दा वराह पीडित सङ्घर्ष समितका संयोजकसमेत रहेका खगेन्द्र नेपालीले आफू सामान्य घाइते भएको बताए । भीड नियन्त्रण नभएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले सहजीकरण गरेका थिए । त्यसक्रममा सशस्त्र प्रहरी बल पनि आएको थियो । डीएसपीले सहजीकरण गरेपश्चात् नगर प्रमुख राईले पीडितहरूको माग सम्बोधन गर्ने बताएपछि भीड नगर परिसरमा गएको थियो ।

प्रमुख राई सम्बोधनका लागि बाहिर नआएपछि ‘धरानका मेयर हर्क साम्पाङ राई मूर्दावाद’ भन्दै नारा लगाए । न्याय दिन नसक्ने नगर प्रमुख र उपप्रमुखको राजीनामा माग गरे । नगर प्रमुखले माफी नमागेपछि भीड थप अनियन्त्रित भएको थियो । प्रहरीले भीडलाई गेटबाहिर निकालेको थियो । उपप्रमुख अइन्द्रविक्रम बेघासहित जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापा छलफलमा बसेका थिए ।

धरान उपमहानगर पन्छिँदै
बचतकर्ता तथा शेयरधनीको करोडौँ रकम अपचलन गर्ने वराह बचत तथा ऋण सहकारी संस्थालाई छानबिन गरी कारबाही गर्न धरान उपमहानगर पन्छिँदै आएको छ । सहकारी संस्था सञ्चालनदेखि नियमनको सम्पूर्ण अधिकार स्थानीय सरकारको कार्यक्षेत्रमा रहेको छ ।

तर, धरान उपमहानगरले वराह पीडितहरूलाई केन्द्रीय सहकारी विभाग पठाएर पन्छिँदै आएको थियो । निवेदन बोकेर केन्द्रीय सहकारी विभाग पुगेका वराह पीडितलाई विभागले स्थानीय सरकारको कार्यक्षेत्र भन्दै उपमहानगरलाई पत्र पठाएको थियो । केन्द्रीय सहकारी विभागले पत्राचार गरेको हप्तौँ हुँदा पनि उपमहानगरले छानबिन समिति गठन नगरेको र सहकारीको चल–अचलसम्पत्ति रोक्का नगरेपछि उपमहानगर नै कारबाहीका लागि पन्छिएको पीडित सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलाले बताए ।

सम्पत्ति रोक्का गर्ने निर्णय
वराह सहकारीको छानबिन गर्न बनेको कार्यदलले वराह सहकारीसहित ग्रुप अफ कम्पनीको बैङ्क खाता र अचल सम्पत्ति रोक्का गर्ने निर्णय गरेको छ । आइतबार नै कार्यदलको बैठकले सम्पत्ति रोक्का गर्ने निर्णय गरेको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए ।

धरान उपमहानगरको सहकारी ऐन २०७५ दफा ६२ अनुसार सहकारीका सञ्चालकसहित कर्मचारीको बैङ्क खाता र स्थिर (अचल) सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो । साथै वराहअन्तर्गत सञ्चालित सम्पूर्ण संस्थाको खाता पनि रोक्का गर्ने निर्णय गरेको हो । सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

baraha